काठमाण्डौ । राष्ट्रबैंकले बैंकहरुको ‘ब्याजदर युद्ध’मा हस्तक्षेप गर्दै ३ बुँदे सर्कुलर जारी गरेसँगै बजारमा उछाल आएको छ । 

बुधबार नेपालको सेयर बजार मापन गर्ने परिसूचक नेप्से इण्डेक्स ६०.५६ अंकले बढेर २५७१.६६ अंकमा फर्किएको हो । 

कारोबार सुरु भएदेखि नै उछालको गतिमा दौडिएको बजार केही मिनेटमै बढेर २५९० माथि पुगेको थियो । पछि फेरि सम्हालिएर केही घटी पुनः बढेर बजार ६०.५६ अंकको बढोत्तरीसहित बन्द भएको हो ।

बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्रबैंकले तोकेको सीडी रेसियो मेन्टेन गर्नका लागि निक्षेपको आकार बढाउने उद्देश्यले ब्याजदरमा मनपरी वृद्धि गरेका थिए । उनीहरुले नयाँ स्रोत भन्दा पनि सहकर्मी बैंक तथा बित्तीय संस्थाहरुकै निक्षेप तान्ने प्रतिस्पर्धा गर्न थालेपछि ऋणको ब्याजदर पनि बढ्न थाल्ने अवस्था सिर्जना भएको थियो । ऋणको ब्याजदर समेत बढ्दै जाँदा सरकारले चालु आर्थिक वर्षका लागि लिएको आर्थिक वृद्धिदरको लक्ष्य तथा स्वयम् राष्ट्रबैंकले लिएको निजी क्षेत्रतर्फको कर्जा बिस्तारको लक्ष्य समेत प्रभावित हुने भएपछि राष्ट्रबैंकले ब्याजदरमा हस्तक्षेप गरेको हो । 

बैंकहरुले मनपरी ढंगले ब्याजदर बढाएको भोलिपल्ट राष्ट्रबैंकका अधिकारीहरुले आफूहरुले फ्री इकोनोमीमा बजारले ब्याजदर निर्धारण गर्ने हुँदा हस्तक्षेप नगर्ने दाबी गरेका थिए । तर, सर्वत्र आलोचना र दवाबपछि राष्ट्रबैंक आफ्नै भनाईलाई पन्छाएर हस्तक्षेप गर्न बाध्य बनेको हो । यो बाध्यतासँगै ब्याजदर बाञ्छित सीमामा आउने भएपछि यसले लगानीकर्ताको गिर्दो मनोबललाई उकासेको देखिएको छ । यहीकारण बुधबार बजारमा उछालको अवस्था देखिएको हो । 

पूँजीबजार दवाब समूहका महासचिव नयन बास्तोलाले मंगलबारको बजार गिरावट अस्वभाविक रहेको र राष्ट्रबैंकको कदमकै कारण बुधबारको बजार बढेको बताए । ‘केन्द्रीय बैंकले ३ बुँदे निर्देशन जारी गरेर बैंकहरुको ब्याजदर युद्धमा हस्तक्षेप गरेको छ। तर यो पर्याप्त छैन ।’ उनले भने–‘अब राष्ट्रबैंकले सीडी रेसियो र सेयर धितो कर्जा सम्बन्धमा गरेको व्यवस्थामाथि पनि पुनरविचार गर्नुपर्छ ।’

उनले आज बजार परिसूचकतर्फ हेरेर मात्र मख्ख पर्ने अवस्था नरहेको दाबी गरे । ‘आज कारोबारको भोल्युम निकै कम छ, त्यसकारण केही दिन हेर्न आवश्यक छ ।’ उनले थपे–‘राष्ट्रबैंक सकारात्मक बन्दै जाने हो भने बजार बढ्छ, बिस्तारै बिस्तारै माथि जान्छ ।’ 

उनले लगानीयोग्य रकम(तरलता) असहज हुने गरी भएका व्यवस्था खारेज गरी बैंक तथा वित्तीय संस्थाहरुलाई पनि सहज अवस्था बनाइदिनुपर्ने र यसो हुन सकेको खण्डमा बजारलाई समेत हित हुने बताए । 

सक्रिय लगानीकर्ता प्रकाश रजौरेले बजारको करेक्सन पनि सकिएको र यही बेला राष्ट्रबैंकले समेत ब्याजदर घटाउन बैंकहरुलाई परिपत्र गर्दा त्यसको सकारात्मक प्रभाव बजारमा परेको बताए । 

‘अब ४–५ कारोबार दिन केही करेक्सन होला, त्यसपछि बजार बढ्ने हो ।’ उनले थपे–‘केही समय साइडवेजमा रहनसक्ला, तर बजार माथि जान्छ ।’ 

राष्ट्रबैंकले ब्याजदरमा हस्तक्षेप गर्दा अधिकांशको दर १० प्रतिशतभन्दा तल आउने, मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा लगानीकर्ताका मागहरु केही न केही सम्बोधन हुने बलियो आशा, सीडी रेसियो सहज बनाउने गरी राष्ट्रबैंकले चाल्नसक्ने आगामी कदम, दशैंको अवसरमा बाहिरिएको ३० अर्ब रुपैयाँ पनि बैंकिङ सिस्टममा फिर्ता हुन थाल्ने, प्राविधिक रुपमा समेत करेक्सन सकिने लगायतका सकारात्मक कुराहरुको विकास हुने भएकोले बजार बढ्नुको विकल्प नरहेको उनको दाबी छ । 

उनले राष्ट्रबैंकले सेयर धितोकर्जाको ४ र १२ करोडवाला सीमा सम्बन्धी व्यवस्था फिर्ता लिनुपर्नेमा जोड दिए । 

बजारमा के–के भयो ?
यो दिन बजारमा २ अर्ब ६७ करोडको मात्र करोबार भयो । कारोबारमा आएका सबै समूहको उपसूचक हराभरा भए । 

बित्त, जलविद्युत र विकास बैंक समूह उछालको गतिमा बढे । यो दिन बित्त समूहको उपसूचक ५.८१ प्रतिशतले बढ्यो भने जलविद्युत र विकास बैंक समूहको उपसूचक क्रमशः ४.३१ र ३.१४ प्रतिशतले बढे ।

बैंकिङ समूह १.८४ प्रतिशतले बढेको यो दिन होटल तथा टुरिजम समूह ३.१३ प्रतिशत, इन्भेष्टमेन्ट समूह १.८१ प्रतिशत, जीवन बीमा समूह १.३३ प्रतिशत, निर्जीवन बीमा समूह २.२० प्रतिशत, उत्पादन तथा प्रशोधन समूह २.०६ प्रतिशत, माइक्रोफाइनान्स समूह १.९८ प्रतिशत, म्युचुअल फण्ड १.४३ प्रतिशत, अन्य समूह ३.८९ प्रतिशत र व्यापार समूह ३.०१ प्रतिशतले बढे । 

धेरै कारोबार गर्ने, कमाउने र गुमाउने कम्पनी
यो दिन बजारमा २१७ कम्पनीका ६१ लख १ हजार ४१४ कित्ता सेयर किनबेच भयो । 

नवील बैंकले सबैभन्दा बढी ९ करोड ४८ लाख बढीको कारोबार गर्यो।

यस्तै, हिमालयन डिस्टीलरीले ७ करोड ८१ लाख, अरुण भ्याली हाइड्रोले ७ करोड ३१ लाख, अपी पावर कम्पनीले ६ करोड ७८ लाख, नेशनल हाइड्रोले ६ करोड ५२ लाख बढीको कारोबार गरे । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचीमा ४ स्थान हाइड्रो कम्पनीले ओगटे । 

यो दिन ६ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लाग्यो । ती सबै कम्पनी जलविद्युत कम्पनी रहेका छन्। 

आँखुखोला जलविद्युत, युनिभर्सल पावर, मैलुङ खोला जलविद्युत, सीइडीबी हाइड्रो, नेशनल हाइड्रोमा पोजिटिभ सर्किट लाग्यो भने यूनाइटेड मोदी हाइड्रोको सेयरमूल्य पनि सर्किट लेभलमै पुग्यो । धेरै कमाउने प्रमुख १० कम्पनीको सूचीमा ७ स्थान हाइड्रोले कब्जा गरे । 

यो दिन एनआइबिएल प्रगति फण्डका इकाईधनीले धेरै गुमाए । यो म्युचुअल फण्डको इकाईमूल्यमा सबैभन्दा बढी २.३४ प्रतिशतले गिरावट आयो । मिथिला लघुवित्तका लगानीकर्ताले पनि १.९० प्रतिशतले सम्पत्ति गुमाए ।