काठमाण्डौ । अघिल्लो साता लगातार बढेको बजार यो साताको दोश्रो कारोबार दिन भने करेक्सनमा गएको छ । 

सोमबार नेप्से परिसूचक १७.७५ अंकले घटेर २८१९.८६ अंकमा सीमित बन्न पुगेको हो । 

यो दिन कारोबार रकम भने बढेर ८ अर्ब नजिक पुगेको छ । 

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले सोमबारको बजारमा कारोबारले साथ दिएको र यो दिन नेप्सेको घटाई ‘करेक्सन’ रहेको प्रष्ट पारे ।

करेक्सनका कारण बजारको जग अझ बलियो भएको उल्लेख गर्दै उनले तरलता बिस्तारै सहज हुँदै गएको, सेयर बजारलाई प्रभाव पर्ने कतिपय नीतिमा पुनर्विचार गर्ने राष्ट्रबैंक नेतृत्वले संकेत दिएको लगायतका कारण बजारमा अब नयाँ जोशजाँगर आउने समेत दाबी गरे । उनले बजार बिस्तारै माथि नै जाने उल्लेख गर्दै भने–‘धेरै बैंक तथा वित्तीय संस्थाको पहिलो त्रैमासिक रिपोर्ट पनि आशालाग्दो नै आएको छ । ५–६ महिनापछि चुनाव आउँदैछ, दूरदराजको पैसा बैंकिङ च्यानलमा आउँदा तरलता अझै सहज हुनेछ । मंसिरसम्म तरलता सहज हुने संकेत देखिएकोले पनि बजारमा सकारात्मक माहौल छ ।’

बजार विश्लेषक तथा युवा लगानीकर्ता रोहन कार्कीले सोमबारको बजारको गिरावटलाई ‘स्वभाविक’ भनेका छन् । ‘विगतमा जसरी घटेको थियो, त्यसरी नै बढेको छ ।’ उनले भने–‘हिजोअस्ती इन्ट्राडे करेक्सन भयो । आजको करेक्सनले नयाँ उचाई चुम्ने बलियो आधार तयार गरिदिएको छ ।’ 

बैंकहरुको आधार दर नबढेको, पहिलो त्रैमासिक रिपोर्ट निकाल्ने धेरै कम्पनीको इपीएस र नेटवर्थ राम्रो हुँदै गएको देखिएको र अब बैंकिङ प्रणालीमा दोश्रो त्रैमासबाट तरलता सहज हुँदै जाने दाबी समेत उनले गरे । ‘बजार माथि नै जाने आधारहरु धेरै छन् ।’ उनले थपे–‘चाँडबाड सकिँदै गएका छन् । चुनाव हुनेवाला छ । सरकारी खर्च समेत बढ्ने अवस्था छ । यसले तरलता समेत सहज बनाउनेछ, जसको सकारात्मक लाभ बजारलाई नै हुने हो ।’  

के–के भयो बजारमा ?
यो दिन नेप्सेका ३ वटा समूहको उपसूचक बढेको छ भने बाँकी समूहको उपसूचक घटेको छ । 

बैंकिङ समूह ४.६९ अंकले बढेको यो दिन होटल र टुरिजम समूहमा ७.७९ अंक तथा इन्भेष्टमेन्ट समूहमा ०.४ अंकको बढोत्तरी भएको छ।

बाँकी सबै समूहका उपसूचक घटेका छन् । सबैभन्दा ठूलो करेक्सन जलविद्युत समूहमा देखिएको छ । यो समूहको उपसूचक ७४.१९(२.३३ प्रतिशत)ले घटेको छ । 

यस्तै, व्यापार समूह १.२९ प्रतिशत, विकास बैंक समूह ०.७७ प्रतिशत, बित्त समूह १.६३ प्रतिशत, निर्जीवन बीमा समूह ०.४२ प्रतिशत, जीवन बीमा समूह ०.७३ प्रतिशत, माइक्रोफाइनान्स १.६२ प्रतिशत, उत्पादनमूलक समूह १.८१ प्रतिशत, अन्य समूह १.३६ प्रतिशत, र म्युचुअल फण्ड समूह ०.७६ प्रतिशतले घटे । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा २२६ कम्पनीका १ करोड ३४ लाख ३ हजार ३१२ कित्ता सेयर ७ अर्ब ७७ करोड ७५ लाख १० हजार ७७८ रुपैयाँमा किनबेच भयो ।

यो दिन सबैभन्दा बढी महालक्ष्मी विकास बैंकले ३६ करोड ५८ लाख बढीको कारोबार भयो । 

आरएमडिसी लघुवित्तले ३६ करोड ५६ लाख बढीको कारोबार गरेको यो दिन नवील बैंकले ३४ करोड, कामना सेवाले २५ करोड, अरुण भ्याली हाइड्रोपावरले २१ करोड, रिडी हाइड्रोपावरले १८ करोड, अपी पावर कम्पनीले १७ करोड, आइसीएफसी फाइनान्सले १६ करोड र लुम्बिनी विकास बैंकले १५ करोडभन्दा बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन तीनवटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । 

मनुषी लघुवित्त, साहास उर्जा लिमीटेड र पाँचथर पावरको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको हो । 

कामना सेवा विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयरमूल्य सबैभन्दा बढी ७ प्रतिशत हाराहारीमा घट्न पुग्यो ।