काठमाण्डौ । लगातार बढिरहेको सेयर बजारमा मंगलबार दोहोरो अंकको करेक्सन आएको छ।

बजार आज १०.७८ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक २९३६.६६ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने १.१ अंकले बढेर ५४७.४६ को विन्दुमा उक्लिएको छ। कारोबार रकम साढे ८ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।

नेपाल इन्भेस्टर्स फोरमकी महासचिव दुर्गा तिवारी लगातार बढेको बजारमा आज सामान्य करेक्सन आएको बताउँछिन्। ‘आज करेक्सन आउनु स्वाभाविक हो’, उनले भने, ‘यसले बजार थप मजबुत हुन्छ भन्ने संकेत गरेको छ।’

तिवारीले बजार एकोरोहो बढ्नु पनि राम्रो नहुने बताइन्। ‘ससाना करेक्सन पनि आवश्यक हुन्छ’, उनले भने, ‘बजार घट्यो भनेर लगानीकर्ताहरु डराइहाल्नुपर्ने अवस्था छैन। बजार लयमा फर्किएको छ, विस्तार नयाँ उचाइ लिन्छ।’

स्वतन्त्र पुँजीबजार संघका अध्यक्ष रोहन कार्की अन्तिम समयमा अल्पकालीन लगानीकर्ताहरुले नाफा बुक गर्दा बजारमा करेक्सन आएको बताउँछन्। ‘करेक्सन हुँदै बजार बढ्नेछ भन्ने लाग्छ’, उनले भने। 

कारोबार रकम पनि हिजोको तुलनामा बढेको उल्लेख गर्दै कार्कीले बजारलाई पनि कारोबारले साथ दिइरहेको बताए। ‘नयाँ लगानीकर्ताहरुमा बजार बढ्दा हौसिएर लगानी गर्ने र सानातिना करेक्सन आउँँदैमा बेच्ने प्रवृत्ति छ, यसले आफैँलाई घाटा हुने हो’, उनले भने, ‘त्यसैले लगानी गर्दा संयमता र धैर्यता आवश्यक छ।’ 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ४ वटामा मात्रै हरियाली छाएको छ भने ९ वटामा रातो पोतिएको छ। 

यो दिन अन्य समूह सर्वाधिक १.३२ प्रतिशतले उकालो लागेको छ। होटेल तथा पर्यटन समूह १.२९ प्रतिशत बढ्दा म्युचुअल फन्ड समूहमा १.२१ प्रतिशत र बैंकिङ समूहमा १.१८ प्रतिशतको बढोत्तरी भएको छ।

आज व्यापार समूह सर्वाधिक २.६३ प्रतिशतले ओरालो लागेको छ। वित्त समूह २.६१ प्रतिशतले घट्दा विकास बैंक समूहमा २.४७ प्रतिशत, जलविद्युत समूहमा १.०३ प्रतिशत, लगानी समूहमा २.३८ प्रतिशत, जीवन बीमा समूहमा १.१९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.३९ प्रतिशत, लघुवित्त समूहमा १.५७ प्रतिशत र निर्जीवन बीमा समूहमा १.३३ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२४ कम्पनीका १ करोड ६० लाख ४ हजार ५३० कित्ता सेयर ८ अर्ब ४४ करोड ३४ लाख १९ हजार ५६२ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन अपी पावरको सर्वाधिक २८ करोड ११ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अरुण भ्याली हाइड्रोपावरको २५ करोड ७१ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल टेलिकमको २५ करोड १९ लाख रुपैयाँ, आईएमई जनरल इन्स्योरेन्सको २४ करोड ५६ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २० करोड ४८ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १९ करोड १ लाख रुपैयाँ, अप्पर तामाकोशीको १८ करोड ८० लाख रुपैयाँ, मध्यभोटेकोशी जलविद्युतको १७ करोड ४१ लाख रुपैयाँ, एचआईडीसीएलको १५ करोड ४२ लाख रुपैयाँ र प्रभु बैंकको १५ करोड १६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज सामलिंग पावरका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउ ९ प्रतिशत बढीले उकालो लागेको छ। मध्यभोटेकोशी जलविद्युतको सेयरमूल्यमा पनि ८ प्रतिशत बढीको बढोत्तरी भएको छ।

यो दिन मानुषी लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरमूल्यमा ५ प्रतिशतको गिरावट आएको छ।