काठमाण्डौ । सेयर बजार परिसूचक(नेप्से) लगातार घटेर लगानीकर्ताहरु प्यानिक बनिरहेकै बेला संगठित गिरोहले थप आतङ्क सिर्जना गर्ने प्रयास थालेको छ । 

गिरोहहरुले विभिन्न व्यक्ति परिचालन गरी बजारमा अझ ठूलो पहिरो जाने भन्दै सर्वसाधारण लगानीकर्तालाई भएभरको सेयर बिक्री गरेर बाहिरिने सुझावसहितको म्यासेज गर्ने अभियान थालेको प्रमाण फेला परेको हो ।

संघीय राजधानी काठमाण्डौ र ब्रोकर शाखा खुलेका देशका शहरहरुमा समेत यसरी विभिन्न नम्बरबाट लगानीकर्तालाई म्यासेज गर्ने अभियान तीव्र बनेको पाइएको छ । 

सेयर बजारमा यसरी म्यासेज पठाउँदै सेयर बेच्न वा किन्न उक्साउने काम गर्नु अपराध मानिन्छ । तर, यस्तो आपराधिक गतिविधि खुलेआम हुँदा समेत नियामकहरुले चासो नदिएका लगानीकर्ताहरु बताउँछन् । 

गिरोहले लगानीकर्तालाई पठाएको एउटा म्यासेजमा भनिएको छ–‘बियर मार्केट सुरु भइसकेको छ, त्यसकारण सचेत हुनुहोला । मलाई लाग्छ, अब सेयर बिक्री गर्नु नै उत्तम हुन्छ । आफूसँग भएको सेयर सबै बिक्री गरिहाल्नुस् । मलाई विश्वास गर्नुहोस् । एक दिन तपाईले आज मैले गरिरहेको म्यासेज सम्झनुहुनेछ । तपाईले यो मिति सम्झनुहुनेछ । नेपाली मिति २०७८/१२/२८ र अंग्रेजी २०२२/०४/११ ।’ 

हामीलाई प्राप्त स्क्रिनसर्टमा म्यासेज प्राप्त गर्ने लगानीकर्ताले 'बजार कतिसम्म आउँछ' भन्दै प्रश्न गरेका छन् । म्यासेज पठाउने सो गिरोहका सदस्यले उत्तर दिंदै भनेका छन्-'ठ्याक्कै त थाहा छैन, तर ६ महिनापछि बजार १५०० मुनि झर्छ ।' 

ब्रोकर तथा लगानीकर्ताहरुले यसरी म्यासेज गर्ने गिरोह पछिल्लो समय निकै सक्रिय भएको छ । 'प्राय सोझा लगानीकर्ताको मोवाइल बक्स, ह्वाट्सएप, भाइबर, फेसबुक म्यासेञ्जर लगायतमा यस्ता म्यासेजहरु तीव्र रुपमा पठाइँदैछ । यस्तो कार्यमा निकै ठूलो गिरोहको संलग्नता छ जस्तो लागिरहेको छ ।' एक लगानीकर्ताले भने-'यस्तै म्यासेजको भर परेर धेरै लगानीकर्ताहरुले प्यानिक सेल गरिरहेका छन् ।' 

लगानीकर्ताहरुले यस्तो अभियानमाथि लगाम लगाउन माग गरेका छन् । खुलेआम यस्ता म्यासेज पठाएर लगानीकर्तालाई भड्काउने, सेयर बिक्रीका लागि प्रभावित तुल्याउने काम पनि बन्द हुनुपर्ने लगानीकर्ताको माग छ । 

'यो म्यासेज अभियानले साच्चिकै धेरै लगानीकर्ताको मनोवल बिगारेको छ ।' एक ब्रोकरले भने-'यो अभियान तुरुन्त रोकिनुपर्छ । नभए गिरोहहरुले सस्तोमा सेयर बेचाएर लगानीकर्तालाई डूबाउनेछन् र आफूले सेयर उठाएर स्वार्थ सिद्ध गर्नेछन् ।' 

जानकारहरुले बजार घटिरहेको समयमा गलत मनशायका साथ सुरु भएको यस्तो म्यासेज अभियानको विषयमा सजग हुन लगानीकर्तामा आह्वान गरेका छन् । कसैले म्यासेज गरेकै भरमा अत्तालिएर सेयर खरीदबिक्रीको निर्णय नगर्न उनीहरुको सुझाव छ । 

यो म्यासेज अभियानको विषयमा धितोपत्र बोर्डले प्रतिक्रिया दिएको छैन । 

यता, बजारका अधिकांश विश्लेषकहरु भने नयाँ वर्षदेखि नेप्से बढ्ने दाबी गरिरहेका छन् । आधारभूत र प्राविधिक पक्ष तथा कारणहरु समेत बलिया बन्दै गएका कारण अब बजार उकालो लाग्ने उनीहरुको तर्क छ ।