काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ।
बजार आज १५.८२ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २२३५.०९ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.४७ अंकले घटेर ४३४.७३ को विन्दुमा ओर्लेको छ। सेयर कारोबार १ अर्ब रुपैयाँभन्दा कमको भएको छ।
नेपाल इन्भेस्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल बजार घट्नुको मुख्य कारण नै तरलता संकट रहेको बताउँछन्। बीमा कम्पनीको मर्जरले पनि बजार घटेको लम्सालको भनाइ छ। ‘किनकि मर्जरले सर्वसाधारणको लगानी २–३ वर्ष बन्धक बन्ने डर आमलगानीकर्तामा देखिएको छ’, उनले भने, ‘यही कारणले बीमा कम्पनीहरुको सेयरमूल्य घटेको हो।’
लम्सालले मर्जर प्रक्रिया अवधिभर कारोबार रोक्का गर्नुभन्दा डीडीए गरुन्जेलसम्म निश्चित अवधिका लागि कारोबार बन्द गर्नुपर्ने बताए।
अहिले राष्ट्र बैंकको पुँजीबजारलाई निरुत्साहित गर्ने खालका नीति व्यवस्थाले पनि बजार प्रभावित भइरहेको त्यस्ता व्यवस्था आगामी बजेटमार्फत सम्बोधन गरिनुपर्ने बताए।
सक्रिय लिगानीकर्ता दामोदर गजुरेल पनि अहिले बजार घट्नुको मुख्य कारण बैंकमा पैसा नहुनु नै रहेको बताउँछन्। यही कारणले केही स्मार्ट लगानीकर्ताहरुले बिक्री गर्दा बजार घटेको उनको बुझाइ छ।
प्राविधिक रुपमा पनि बजार कमजोर नै देखिएको गजुरेल बताउँछन्। आज भोलुम ड्राई हुनुमा लगानीकर्ताहरुले घाटामा बेच्न नचाहँदै हुन सक्ने उनको भनाइ छ। ‘किनकि बजेट आउँदै गर्दा लगानीकर्ताहरुले केही सुधारको अपेक्षा गरेका हुन सक्छन्’, उनले भने।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटामा रातो पोतिएको छ भने एउटा समूहमा मात्रै हरियाली छाएको छ।
यो दिन व्यापार समूह सर्वाधिक २.३८ प्रतिशतले ओरालो लागेको छ। अन्य समूह २.०६ प्रतिशतले घटेको आज बैंकिङ समूहमा ०.४२ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.२६ प्रतिशत, विकास बैंक समूहमा ०.८५ प्रतिशत, जलविद्युत समूहमा ०.३८ प्रतिशत, वित्त समूहमा ०.९३ प्रतिशत, निर्जीवन बीमा समूहमा १.४४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.३९ प्रतिशत, लघुवित्त समूहमा ०.३१ प्रतिशत, जीवन बीमा समूहमा १.११ प्रतिशत र लगानी समूहमा ०.५८ प्रतिशतको गिरावट आएको छ।
आज म्युचुअल फन्ड समूह ०.४६ प्रतिशतले उकालो लागेको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२३ कम्पनीका २५ लाख २४ हजार २६८ कित्ता सेयर ९३ करोड २२ लाख ६ हजार ८४ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन अरुण काबेली पावरको सर्वाधिक ३ करोड २ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको २ करोड ८४ लाख रुपैयाँबराबरको कारोबार भएको आज सांगिला डेभलपमेन्ट बैंकको संस्थापक सेयरको २ करोड ७६ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको २ करोड ६९ लाख रुपैयाँ, अपी पावरको २ करोड ६७ लाख रुपैयाँ, नागरिक लगानी कोषको २ करोड ६१ लाख रुपैयाँ, नबिल बैंकको २ करोड ३१ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको २ करोड २४ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १ करोड ९६ लाख रुपैयाँ र सूर्या लाइफ इन्स्योरेन्सको १ करोड ८४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज सामुदायिक लघुवित्त र श्री इन्भेस्टमेन्ट फाइनान्सका सेयरधनीहरुले धेरै कमाए। यो यी दुवै कम्पनीको सेयरभाउ ३ प्रतिशतको हाराहारीमा उकालो लागेको छ।
यो दिन तेह्रथुम पावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ४ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
24 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
14 hours ago