काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन शुक्रबार सेयर बजारामा सामान्य गिरावट आएको छ। 

बजार जानकार प्रेम ओली मुख्य समस्या पैसाकै रहेको बताउँछन्। ‘तरलता सहज नभएसम्म बजारले गति लिन सक्दैन’, उनले भने, ‘त्यसका लागि राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नै सहज गर्नुपर्छ।’

अहिले धेरै लगानीकर्ता मौद्रिक नीतिको प्रतीक्षामा रहेको ओली बताउँछन्। ‘अधिकांश कम्पनीका सेयरमूल्य धेरै तल आएकोले नगद व्यवस्थापन गर्न सक्नेहरुले खरिद गर्दा जित्नेछन्’, उनले भने। 

सक्रिय लगानीकर्ता विष्णु भुसाल बजार धेरै घटेकोले बटम लागेको बताउँछन्। ‘बजार तल्लो लेभलमा आएको छ, केही समय साइडवेज चलेरमात्रै बजार बाटो लिन सक्छ’, उनले भने, ‘लगानीकर्ता गुड न्युजको प्रतीक्षामा छन्।’

आज बजार ७.५७ प्रतिशतले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १९७१.३६ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ०.६९ अंकले घटेर ३८१.१४ को विन्दुमा ओर्लेको छ। आज २ घन्टाको कारोबारमा पौने १ अर्ब रुपैयाँको हाराहारीमा सेयर किनबेच भएको छ। 

यो दिन नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये म्युचुअल फन्डबाहेक सबै समूहमा गिरावट आएको छ। म्युचुअल फन्ड ०.०४ प्रतिशतले उकालो लागेको छ। 

आज जलविद्युत समूह सर्वाधिक ०.८२ प्रतिशतले ओरालो लागेको छ। होटेल तथा पर्यटन समूह ०.६१ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.३७ प्रतिशत, व्यापार समूहमा ०.५८ प्रतिशत, विकास बैंक समूहमा ०.४२ प्रतिशत, वित्त समूहमा ०.५८ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.२३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.१७ प्रतिशत, अन्य समूहमा ०.५५ प्रतिशत, लघुवित्त समूहमा ०.०४ प्रतिशत र लगानी समूहमा ०.५९ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२० कम्पनीका २३ लाख ५४ हजार ९११ कित्ता सेयर ७३ करोड ६२ लाख ३५ हजार २९८ रुपैयाँमा किनबेच भएको छ।

आज नेपाल टेलिकमको सर्वाधिक १० करोड १४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सेन्चुरी कमर्सियल बैंकको ६ करोड ४७ लाख रुपैयाँबराबरको कारोबार हुँदा एनसीसी बैंकको ४ करोड ९ लाख रुपैयाँ, कुमारी बैंकको २ करोड ८६ लाख रुपैयाँ, लक्ष्मी बैंकको २ करोड २६ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको २ करोड २६ लाख रुपैयाँ, सिटिजन्स बैंकको १ करोड ७१ लाख रुपैयाँ, रिभर फल्सको १ करोड ४६ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १ करोड ४२ लाख रुपैयाँ र नबिल बैंकको १ करोड ३६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज आँधिखोला लघुवित्तका सेयरधनीहरु मालामाल भए। यो लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको हाराहारी बढेर पोजिटिभ सर्किट लागेको छ।

यो दिन रिभर फल्सका सेयरधनीहरुले सर्वाधिक गुमाए। यो कम्पनीको सेयरमूल्यमा ६ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।