काठमाण्डौ । सेयर बजार बुधबार दोहोरो अंकले ओरालो लागेको छ। 

बजार आज ३१.२१ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १८९३.५३ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ५.९४ अंकले घटेर ३६९.१५ को विन्दुमा ओर्लेको छ। कारोबार रकम पौने १ अर्ब रुपैयाँभन्दा बढीको भएको छ। 

बजार जानकारी प्रकाश रजौरे बजार सुधार मागलाई धितोपत्र बोर्डदेखि सबै निकायले बेवास्ता गरेकै कारण बजार घटेको बताउँछन्। ‘हिजो धितोपत्र बोर्डबाट लगानीकर्ताहरु केही आशा गरेका थिए, तर सोचेजस्तो भएन’, उनले भने। 

बजार सुधारका लागि तत्काल राष्ट्र बैंकले सर्कुलर जारी गर्नुपर्ने रजौरेको भनाइ छ। सरकारले पनि लगानीकर्ताका १९ बुँदे माग तत्काल सम्बोधन गर्नुपर्ने उनले बताए। 

सक्रिय लगानीकर्ता महेश रिजालले मार्जिन कलले बजारमा दबाब परेको बताउँछन्। ‘बैंकहरुले सेलिङ प्रेसर दिएका छन्’, उनले भने। 

सेबोन अध्यक्षको अस्पष्ट सम्बोधनले लगानीकर्तामा आक्रोश बढेको रिजाल बताउँछन्। ‘पोजिटिभ कुरा नआएकै कारण बजारमा नकारात्मक प्रभाव परेको हो’, उनले भने। 

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। 

यो दिन विकास बैंक समूह सर्वाधिक २.७५ प्रतिशतले ओरालो लागेको छ। अन्य समूह २.६६ प्रतिशतले घट्दा बैंकिङ समूहमा १.२१ प्रतिशत, व्यापार समूहमा १.१ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.०१ प्रतिशत, जलविद्युत समूहमा २.४९ प्रतिशत, वित्त समूहमा २.६ प्रतिशत, निर्जीवन बीमा समूहमा ११.९९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.२३ प्रतिशत, लघुवित्त समूहमा १.११ प्रतिशत, जीवन बीमा समूहमा १.४५ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.८५ प्रतिशत र लगानी समूहमा १.६९ प्रतिशतको गरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२९ कम्पनीका ३० लाख ३४ हजार ४८३ कित्ता सेयर ८४ करोड ३७ लाख ७३ हजार ४५९ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन नबिल बैंकको सर्वाधिक ३ करोड ३९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल बैंकको २ करोड ६७ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ६४ लाख रुपैयाँ, एनसीसी बैंकको २ करोड ५४ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको २ करोड ४९ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको २ करोड १० लाख रुपैयाँ, सानिमा माई हाइड्रोपावरको १ करोड ८५ लाख रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्सको १ करोड ७४ लाख रुपैयाँ, अपी पावरको १ करोड ६२ लाख रुपैयाँ र अरुण भ्याली हाइड्रोपावरको १ करोड ५५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज आँधिखोला लघुवित्तका सेयरधनीहरुले धेरै कमाए। यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ। 
यो दिन युनाइटेड इदी मर्दीका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ६ प्रतिशत बढीले ओरालो लागेको छ।