काठमाण्डौ । सेयर बजार मंगलबार पनि ओरालो लागेको छ। 

बजार आज ११.८२ अंकले ओरालो लागेको हो। योसँगै १९२१.३१ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीका ३.२२ अंकले घटेर ३७२.६० को विन्दुमा झरेको छ। कारोबार रकम भने हिजोको तुलनामा घटेर १ अर्ब रुपैयाँ बढीको मात्रै भएको छ। 

बजार जानकार वीरेन्द्र बिष्ट आजको घटाइलाई सामान्य करेक्सनका रुपमा लिनुपर्ने बताउँछन्। ‘अब बजार अप ट्रेन्डमै जाने सम्भावना छ’, उनले भने, ‘किनकि राष्ट्र बैंकले केही नीतिगत व्यवस्था परिवर्तन गर्न सकारात्मक छ।’

असारको तेस्रो साता मौद्रिक नीति आउने सम्भावना रहेको बिष्ट बताउँछन्। ‘तरलता पनि सहज हुँदैछ’, उनले भने, ‘अब लाभांशको पनि सिजन सुरु हुन लागेकोले बजार धेरै घट्दैन।’

सक्रिय लगानीकर्ता महेश रिजाल अस्ति बजार अलि धेरै अंकले बढेकोले हिजो र आज करेन्सन आएको बताउँछन्। ‘बजारमा मार्जिन कल र ब्रोकर सेटलमेन्ट बाँकी नै छ’, उनले भने, ‘त्यसैले यो महिना बजार साइडवेजमै चल्न सक्छ।’

असार मसान्तको प्रभाव सकिएपछि मात्रै सप्लाई कम हुँदै जाँदा बजारले गति लिने रिजालको भनाइ छ। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये २ वटामा मात्रै हरियाली छाएको छ भने ११ वटामा रातो पोतिएको छ। 

यो दिन जीवन बीमा समूह १.०३ प्रतिशतले बढ्दा बैंक समूहमा ०.०२ प्रतिशतको बढोत्तरी भएको छ। 

आज जलविद्युत समूह सर्वाधिक १.६९ प्रतिशतले ओरालो लागेको छ। लगानी समूह १.६५ प्रतिशतले घट्दा व्यापार समूहमा ०.६५ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.७१ प्रतिशत, विकास बैंक समूहमा १.३५ प्रतिशत, वित्त समूहमा १.५७ प्रतिशत, निर्जीवन बीमा समूहमा १.४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.०१ प्रतिशत, अन्य समूहमा ०.९७ प्रतिशत, लघुवित्त समूहमा ०.९३ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.४४ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २३० कम्पनीका ३० लाख ३७ हजार ६३० कित्ता सेयर १ अर्ब ५ करोड ८२ लाख ४६ हजार ४७२ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन एसियन लाइफ इन्स्योरेन्सको सर्वाधिक ७ करोड ३१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। लाइफ इन्स्योरेन्स कर्पोरेसनको ५ करोड ४३ लाख रुपैयाँबराबरको कारोबार भएको आज नागरिक लगानी कोषको ५ करोड ३४ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ४ करोड ३७ लाख रुपैयाँ, ङादी ग्रुप पावरको ३ करोड ५१ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ३ करोड १० लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको २ करोड ९२ लाख रुपैयाँ, नबिल बैंकको २ करोड ७८ लाख रुपैयाँ, नेपाल टेलिकमको २ करोड ४७ लाख रुपैयाँ र नेसनल लाइफ इन्स्योरेन्सको २ करोड ४२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज सिवाईसी लघुवित्तका सेयरधनीहरुले धेरै कमाए। यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतको हाराहारीको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ। 

यो दिन जनरल इन्स्योरेन्स र युनाइटेड इदी मर्दीका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरमूल्यमा ५ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।