काठमाण्डौ । सेयर बजार मंगलबार फेरि ओरालो लागेको छ।

आज बजार ६.५९ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक १८९७.८६ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स १.३३ अंकले घटेर ३७३.७१ को विन्दुमा ओर्लेको छ। कारोबार रकम १ अर्ब रुपैयाँ बढीको भएको छ। 

बजार जानकार गोविन्दप्रसाद घिमिरे आजको घटाइलाई करेक्सनका रुपमा लिनुपर्ने बताउँछन्। ‘बजार तत्कालका लागि धेरै तल–माथि हुने देखिँदैन’, उनल भने, ‘यो बेला आफ्नै स्वपुँजी लगानीलाई अवसर रहेको छ।’

चुनावपछि बजारले एउटा दिशा तय गर्ने घिमिरे बताउँछन्। 

अर्का बजार जानकार दामोदर गजुरेल आजको बजारले लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेकोजस्तो देखिने बताउँछन्। ‘ब्याजदर तत्काल नघट्ने भएपछि बजारमा उत्साह नआएको देखिन्छ’, उनले भने, ‘तर, बजार धेरै घटेकोले अब धेरै तल जाने सम्भावना छ।’

अब चुनावको नतिजापछि मात्रै बजारले स्पष्ट दिशा लिन सक्ने गजुरेलको भनाइ छ। ‘प्राविधिक रुपमा बजारले बोलिंगर ब्यान्डको मध्य ब्यान्डमा सपोर्ट लिएको डराउनुपर्ने अवस्था छैन’, उनले भने। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ३ वटामा हरियाली छाएको छ भने १० वटामा रातो पोतिएको छ।

यो दिन व्यापार समूह सर्वाधिक ०.३० प्रतिशतले उकालो लागेको छ। निर्जीवन बीमा समूह ०.०९ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.०८ प्रतिशतको बढोत्तरी भएको छ। 

यो दिन वित्त समूह सर्वाधिक १.६२ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह १.३२ प्रतिशतले घट्दा होटेल तथा पर्यटन समूहमा ०.७९ प्रतिशत, जलविद्युत समूहमा ०.९२ प्रतिशत, लगानी समूहमा ०.२ प्रतिशत, जीवन बीमा समूहमा ०.१३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.२७ प्रतिशत, लघुवित्त समूहमा ०.६ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.६ प्रतिशत र अन्य समूहमा ०.४२ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२९ कम्पनीका २७ लाख ४५ हजार १०९ कित्ता सेयर १ अर्ब २ करोड ३६ लाख ९ हजार ९६० रुपैयाँमा कारोबार भएको छ। 

यो दिन हिमालयन डिस्टिलरीको सर्वाधिक ८ करोड २२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ४ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल टेलिकमको ४ करोड ६७ लाख रुपैयाँ, शिवम सिमेन्टको ४ करोड ४८ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ३ करोड १७ लाख रुपैयाँ, गोर्खाज फाइनान्सको ३ करोड ११ लाख रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको २ करोड ३९ लाख रुपैयाँ, एभरेस्ट बैंकको २ करोड २२ लाख रुपैयाँ, गरिमा विकास बैंकको संस्थापक सेयरको २ करोड १८ लाख रुपैयाँ र नबिल बैंकको २ करोड १० लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज युनिलिभर नेपालका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउ २ प्रतिशत बढीले उकालो लागेको छ। 

यो दिन तारागाउँ रिजेन्सी होटेलका सेयरधनीहरुले धेरै गुमाए। यो होटेलको सेयरभाउ ९ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।