काठमाण्डौ । सेयर बजारमा मंगलबार सामान्य सुधार आए पनि कारोबार सुस्ताएको छ। 

बजारमा आज २.९९ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १९५३.३५ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ०.०८ अंकले बढेर ३८२.६९ को विन्दुमा पुगेको छ। कारोबार रकम भने हिजोको तुलनामा घटेर १ अर्ब रुपैयाँ मुनिको भएको छ। 

नेपाल इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार लगानीकर्ता पर्ख र हेरकै अवस्थामा रहेका कारण बजार सामान्य उतारचढाव भइरहेको बताउँछन्। ‘मौद्रिक नीतिको पहिलो समीक्षाले ब्याजदर स्पष्ट रुपमा घटाउने व्यवस्था गर्ने आशा लगानीकर्तामा थियो तर त्यस्तो भएन’, उनले भने, ‘त्यसैले लगानीकर्ताको मनोबल अझै बढिसकेको छैन।’

चुनावी नतिजा अन्तिम अवस्थामा रहनु, चुनावको खर्च विस्तार बैंकिङ प्रणालीमा आउन थाल्नु र तरलता पनि सहज हुँदै जानुले बजार अब सकारात्मक नै हुने रौनियारको भनाइ छ। ‘बजार जति घट्नु थियो घट्यो, अब घट्ने ठाउँ छैन’, उनले भने, ‘त्यसैले बजारमा अहिले २० प्रतिशत जोखिम र ८० प्रतिशत अवसर छ, अहिले ऋण लिएरभन्दा पनि आफूसँग भएको पैसा लगानी गर्ने उचित समय हो। दीर्घकालमा राम्रै प्रतिफल प्राप्त हुन्छ।’ 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ७ वटामा हरियाली छाएको छ भने ६ वटामा रातो पोतिएको छ। 

यो दिन वित्त समूह सर्वाधिक १.२१ प्रतिशतले उकालो लागेको छ। विकास बैंक समूह ०.८१ प्रतिशतले बढ्दा लघुवित्त समूहमा ०.५८ प्रतिशत, जलविद्युत समूहमा ०.१२ प्रतिशत, जीवन बीमा समूहमा ०.३४ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.३३ प्रतिशत र अन्य समूहमा ०.४८ प्रतिशतको बढोत्तरी भएको छ। 

आज व्यापार समूह सर्वाधिक ०.७९ प्रतिशतले ओरालो लागेको छ। होटेल तथा पर्यटन समूह समान ०.१९ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.०७ प्रतिशत, लगानी समूहमा ०.१३ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहमा ०.०२ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २३४ कम्पनीका २५ लाख ८९ हजार ९९७ कित्ता सेयर ९५ करोड ७० लाख ६० हजार २२६ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन हिमालयन डिस्टिलरीको सर्वाधिक ९ करोड ७२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नबिल बैंकको ४ करोड ३१ लाख रुपैयाँबराबरको कारोबार भएको आज शिवम सिमेन्टको ४ करोड २२ लाख रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको ३ करोड १८ लाख रुपैयाँ, .एनसीसी बैंकको २ करोड ५२ लाख रुपैयाँ, युनिभर्सल पावरको २ करोड ३३ लाख रुपैयाँ, ङादी ग्रुप पावरको १ करोड ७६ लाख रुपैयाँ, जीवन विकास लघुवित्तको १ करोड ७५ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १ करोड ६५ लाख रुपैयाँ र सिभिल बैंकको १ करोड ६५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज धौलागिरी लघुवित्तका सेयरधनीहरुले धेरै कमाए। यो लघुवित्तको सेयरभाउ ६ प्रतिशत बढीले उकालो लागेको छ। 

यो दिन नेपाल एसबीआई बैंकका सेयरधनीहरुले धेरै गुमाए। यो बैंकको सेयरभाउ ४ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।