काठमाण्डौ । सेयर बजारमा बुधबार फेरि झिनो अंकको गिरावट आएको छ। 

बजार आज ३.५१ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १९४९.८५ को विन्दुमा बन्द भएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.८५ अंकले घटेर ३८१.८४ को विन्दुमा ओर्लेको छ। कारोबार रकम हिजोको तुलनामा घटेर ८४ करोड रुपैयाँ बढीको भएको छ। 

बजार जानकार गोविन्दप्रसाद घिमिरे बजार साइडवेजमा चलिरहेको बताउँछन्। यस्तो अवस्थामा कारोबार घट्नुलाई सामान्य रुपमा लिनुपर्ने उनको भनाइ छ। 

लगानीकर्ताहरुले अहिले चुनावी नतिजा कुरेर बसेको हुन सक्ने बताउँछन्। ‘चुनावी नतिजापछि नयाँ सरकार कसको नेतृत्वमा बन्ला भन्ने पर्खाइमा पनि लगानी रहेको देखिन्छ’, उनले भने, ‘त्यसैले अहिले लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छन्।’

अब बन्ने सरकारको अर्थमन्त्रीमा अर्थतन्त्र जाने–बुझेको मान्छे आउने सम्भावना रहेको घिमिरे बताउँछन्। ‘त्यस्तो भयो भने अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्छ’, उनले भने, ‘अर्थतन्त्रमा सुधार भएसँगै सेयर बजारले पनि गति लिन्छ।’

अहिलेको अवस्थामा राम्रा कम्पनीको सेयर उठाएर राख्ने बेला रहेको घिमिरेले बताए। ‘अहिले किनेको सेयरमा लाभांश पनि खान पाइन्छ’, उनले भने, ‘६–८ महिनामा राम्रै प्रतिफल पनि पाउन सकिन्छ।’

अर्का बजार जानकार दामोदर गजुरेल पनि लगानीकर्ताहरु नयाँ सरकारको पर्खाइमा रहेको बताउँछन्। ‘त्यति भएर बजार सामान्य तल–माथि भइरहेको हो’, उनले भने।

पुँजीबजारमैत्री सरकार बनेमा र अर्थतन्त्र बुझेका मान्छे अर्थमन्त्री भएरमा बजारमा छिट्टै बुल आउन सक्ने गजुरेलको भनाइ छ। ‘अहिले प्राविधिक रुपमा हेर्दा पनि बजार साइडवेजमा चलेको देखिन्छ’, उनले भने।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये २ वटामा मात्रै हरियाली छाएको छ भने ११ वटामा रातो पोतिएको छ। 

यो दिन व्यापार समूह ०.८८ प्रतिशतले बढ्दो लघुवित्त समूह ०.०१ प्रतिशतले उकालो लागेको छ। 

आज वित्त समूह सर्वाधिक १.०९ प्रतिशतले ओरालो लागेको छ। म्युचुअल फन्ड समूह ०.९१ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.०२ प्रतिशत, विकास बैंक समूहमा ०.५४ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.०५ प्रतिशत, जलविद्युत समूहमा ०.११ प्रतिशत, लगानी समूहमा ०.४० प्रतिशत, जीवन बीमा समूहमा ०.१९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.२५ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.१० प्रतिशत र अन्य समूहमा ०.६६ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २३८ कम्पनीका २३ लाख ५५ हजार ८४५ कित्ता सेयर ८४ करोड २६ लाख ९५ हजार ३०२ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन हिमालयन डिस्टिलरीको सर्वाधिक ४ करोड ७९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नबिल बैंकको ४ करोड १५ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेष्डो समृद्ध लघुवित्तको ३ करोड ८३ लाख रुपैयाँ, शिवम सिमेन्टको ३ करोड रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक समूहको २ करोड ८७ लाख रुपैयाँ, सिभिल बैंकको २ करोड २७ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको २ करोड १८ लाख रुपैयाँ, गरिमा विकास बैंकको संस्थापक सेयरको १ करोड ८५ लाख रुपैयाँ, जीवन विकास लघुवित्तको १ करोड ८१ लाख रुपैयाँ र एनआईसी एसिया बैंकको १ करोड ६७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज ग्रिनलाइफ हाइड्रोपावरका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउ ४ प्रतिशत बढीले उकालो लागेको छ।

यो दिन विन नेपाल लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ४ प्रतिशत बढीले ओरालो लागेको छ।