काठमाण्डौ । सेयर बजारमा मंगलबार पनि सामान्य गिरावट आएको छ। 

बजार आज ४.८७ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १९३३.८८ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.५६ अंकले घटेर ३७८.०८ को विन्दुमा ओर्लेको छ। कारोबार रकम हिजोको तुलनामा घटेर १ अर्ब रुपैयाँभन्दा मुनिको भएको छ।

बजार जानकार गोविन्दप्रसाद घिमिरे केही वस्तुको आयातमा लामो समयदेखि लाग्दै आएको प्रतिबन्ध खुल्ने चर्चाले बजारमा दबाब परेको बताउँछन्। ‘आयात खुले बजारबाट पैसा बाहिरिने आशंकामा लगानीकर्ताहरु डराएका हुन सक्छन्’, उनले भने। 

हिजोआज बजार घट्नुको अर्को कारण भनेको स्मार्ट लगानीकर्ताले सस्तोमा किन्न पाइने आशामा सेयर बेच्नु पनि हुन सक्ने घिमिरेको भनाइ छ। 

अर्का बजार जानकार सरोज भट्टराई नयाँ सरकार गठनमा लगानीकर्ताहरुले विशेष चासो दिइरहेको बताउँछन्। ‘सरकार कसको नेतृत्वमा बन्ला भनेर लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा बसेका हुन सक्छन्’, उनले भने। 

भट्टराईले आयात खुल्न सक्ने विषयले पनि बजार प्रभावित भएको हुन सक्ने बताए। 

सेयर बजारमा तरलता र ब्याजदर नै मुख्य विषय रहेको भट्टराई बताउँछन्। बियरिस बजारमा राम्रा कम्पनी छनोट गरी लगानी गर्दा बुल बजारमा अवश्य राम्रो प्रतिफल पाइने उनको भनाइ छ। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ३ वटामा हरियाली छाएको छ भने १० वटामा रातो पोतिएको छ। 

यो दिन अन्य समूह सर्वाधिक ०.५७ प्रतिशतले उकालो लागेको छ। लघुवित्त समूह ०.२८ प्रतिशतले घट्दा जीवन बीमा समूहमा ०.०१ प्रतिशतको बढोत्तरी भएको छ। 

आज लगानी समूह सर्वाधिक ०.९१ प्रतिशतले ओरालो लागेको छ। म्युचुअल फन्ड समूह ०.७५ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.३९ प्रतिशत, विकास बैंक समूहमा ०.७० प्रतिशत, वित्त समूहमा ०.०८ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.१२ प्रतिशत, जलविद्युत समूहमा ०.४४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.६९ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.३६ प्रतिशत र व्यापार समूहमा ०.३७ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २३८ कम्पनीका २५ लाख ८१ हजार ४२५ कित्ता सेयर ९६ करोड ५२ लाख १० हजार ८९९ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन शिवम सिमेन्टको सर्वाधिक ८ करोड १२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको ५ करोड ५० लाख रुपैयाँबराबरको कारोबार भएको आज रिडी पावरको ५ करोड २ लाख रुपैयाँ, नबिल बैंकको ४ करोड ८१ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ३ करोड ५३ लाख रुपैयाँ, आरएमडीसी लघुवित्तको ३ करोड १७ लाख रुपैयाँ, एनएमबी बैंकको २ करोड ६२ लाख रुपैयाँ, साना किसान विकास लघुवित्तको २ करोड ५० लाख रुपैयाँ, मेगा बैंकको २ करोड ५ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको १ करोड ९५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज धौलागिरी लघुवित्तका सेयरधनीहरुले धेरै कमाए। यो लघुवित्तको सेयरभाउ ८ प्रतिशत बढीले उकालो लागेको छ। 

यो दिन एनएमबि बैंकका सेयरधनीहरुले धेरै गुमाए। यो बैंकको सेयरभाउ ६ प्रतिशत बढीले ओरालो लागेको छ।