काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा झिनो वृद्धि भएको छ।

बजार आज १.५४ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २०९६.०८ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स १.८९ अंकले बढेर ४००.२६ को विन्दुमा पुगेको छ। कारोबार रकम पौने २ अर्ब रुपैयाँ बढीको भएको छ। 

सेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेल लगानीकर्ता अहिले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको पर्खाइमा रहेकोले बजार साइडवेजमा चलिरहेको बताउँछन्। ‘राजनीतिक विषयले पनि लगानीकर्ता अन्यौलमा छन्’, उनले भने, ‘तर, राजनीतिकलाई धेरै चासोका रुपमा हेर्न आवश्यक छैन। किनकि सत्तामा कुनै पार्टी वा व्यक्ति आउँदैमा वा सत्ताबाट बाहिरिँदैमा सेयर बजारमा त्यति ठूलो प्रभाव पर्दैन।’

अर्थमन्त्री पुँजीबजारप्रति सकारात्मक नै रहेकोले बजार विस्तारै माथि नै जाने फुल्लेलको भनाइ छ। 

पुँजीबजार दबाब समूहका महासचिव नयन बास्तोला राजनीतिक रुपमा केही अन्यौलता रहेको बताउँछन्। ‘तर, ब्याजदर घट्नु र तरलता बढ्नुले बजार सकारात्मक नै हुने आशा गर्न सकिन्छ’, उनले भने। 

 यो दिन नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ८ वटामा हरियाली छाएको छ भने ५ वटामा रातो पोतिएको छ। 

आज वित्त समूह सर्वाधिक १.६१ प्रतिशतले उकालो लागेको छ। होटेल तथा पर्यटन समूह ०.७४ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.१२ प्रतिशत, विकास बैंक समूहमा ०.३२ प्रतिशत, जलविद्युत समूहमा ०.२९ प्रतिशत, लगानी समूहमा ०.४२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.७० प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.१३ प्रतिशतको बढोत्तरी भएको छ। 

यो दिन व्यापार समूह सर्वाधिक ०.७७ प्रतिशतले ओरालो लागेको छ। जीवन बीमा समूह ०.५० प्रतिशतले घट्दा लघुवित्त समूहमा ०.३४ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.४५ प्रतिशत र अन्य समूहमा ०.३२ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २५८ कम्पनीका ५२ लाख ६ हजार ३७० कित्ता सेयर १ अर्ब ९३ करोड १७ लाख १९ हजार १०३.९३ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक ६ करोड ४४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एनआईसी एसिया बैंकको ५ करोड ८५ लाख रुपैयाँ बढीको कारोबार भएको आज नबिल बैंकको ५ करोड ७४ लाख रुपैयाँ, चिमिले हाइड्रोपावरको ५ करोड ७ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ४ करोड २४ लाख रुपैयाँ, अपर तामाकोशीको ४ करोड २३ लाख रुपैयाँ, अपी पावरको ४ करोड ५ लाख रुपैयाँ, पोखरा फाइनान्सको ३ करोड ८६ लाख रुपैयाँ, शिवम सिमेन्ट्सको ३ करोड ४८ लाख रुपैयाँ र ङादी ग्रुप पावरको ३ करोड ३० लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज आदर्श लघुवित्तका सेयरधनीहरु धेरै कमाए। यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ। 

यो दिन इस्टर्न हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ५ प्रतिशत बढीले ओरालो लागेको छ।