– अर्जुन तिमिल्सिना

काठमाण्डौ । सेयर बजारमा यो साताको पहिलो दिनै हालसम्मकै उच्च २१ अर्ब रुपैयाँभन्दा बढी कारोबार भएको छ। कारोबार रकमले कायम गरेको नयाँ कीर्तिमानले बजार निकै बलियो रहेको बुझ्न सकिन्छ। 

आज हामीले समग्र बजारको अवस्थालाई विभिन्न प्राविधिक औजारबाट केलाउने कोसिस गरेका छौँ। ती प्राविधिक औजारमध्ये अल्पकालीन औजारहरुले बजारमा सामान्य करेक्सन तथा बजार साइवेजमा जान सक्ने सम्भावनालाई देखाउँछ। दीर्घकालीन औजारहरुले भने बजार बुलिस नै रहेको र केही करेक्सन हुँदै माथि जान सक्ने सम्भावनालाई दर्शाउँछ। 

मैनबत्ती विश्लेषणका आधारमा 

मैनबत्ती विश्लेषणअन्तर्गत गत बुधबार बजारले इन्भर्टेड ह्याम्मर बनाएको थियो (हेर्नुहोस् रातो एरो)। यदि यस्तो आकृति उच्च विन्दुमा बन्छ भने यसले बजारले बाटो परिवर्तन गरेको संकेत गर्छ। तर यो साताका दुई दिनको कारोबारले तल लामो पुच्छरसहितको ह्याम्मर बनाउनुका साथै बजारको तल्लो विन्दुबाट माथिल्लो विन्दुसम्म फिवोनासी लिँदा अघिल्लो साता ३ पटक र यो साता पनि आइतबारको कारोबारले एकपटक ३०९८ को विन्दुमा टेवा लिएको छ। जुन फिवोनासीको ०.२३ प्रतिशतमा टेवा देखिन्छ (हेर्नुहोस् हरियो एरो)। यो आधारमा बजार ३०९८ को विन्दुमा निकै बलियो टेवा भएको बुझ्न सकिन्छ। यदि बजार यो विन्दुभन्दा तल आउँछ भने केही अंकको करेक्सनको सम्भावना देखिन्छ। 

इलिअट वेभका आधारमा 

यो सिद्धान्तमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्रीले सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्। सन् २०१९ नोभेम्बर महिनादेखि हालसम्मको बजारले बनाएको रोखाचित्रलाई आधार मानेर  इलिअट  वेभलाई विश्लेषण गर्ने हो भने एउटा सम्भावना बजारले फिवोनासीको २.६१ प्रतिशतको वृद्धि लगभग ३२०० मा माइनर डिग्रीको वेभ ५ पूरा भएको र अब ए, बी र सी बनाउन बजार लगभग २९४२ सम्म तल आउन सक्ने र त्यहाँबाट पुनः नयाँ डिग्री बनाउँदै बजारले एउटा नयाँ उचाइ फिवोनासीकै ३.६१ प्रतिशतको वृद्धि लगभग ३५१८ सम्मको विन्दु पुग्नसक्ने देखिन्छ। (हेर्नुहोस् मुख्य तस्बिर) 

फिवोनासी सिद्धान्तका आधारमा 

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यो सिद्धान्तअनुसार यदि बजार घटेमा ०.२३ प्रतिशतको टेवा ३०९८, ०.३८ प्रतिशतको टेवा ३०३८ तथा ०.५ प्रतिशतको टेवा २९९० र ०.६१ प्रतिशतको टेवा २९४२ सम्म बजार आउन सक्ने देखिन्छ। (जुन तस्बिरमा हेर्न सकिन्छ)

एमएसीडी लाइनका आधारमा

एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ। यो लाइनअन्तर्गत भन्नुपर्दा एमएसीडी लाइनले सिग्नल लाइनलाई माथिबाट काट्न थालेको जस्तो देखिन्छ (हेर्नुहोस् रातो एरो)। हिस्टोग्राम सकारात्मक र क्रमशः छोटा–छोटा बन्दै गएका छन्। यो आधारमा बजारमा बिक्रीचाप परेको अनुमान लगाउन सकिन्छ। अघिल्लोपटक पनि एमएसीडी लाइनले यस्तै चित्र बनाएर पुनः माथि फर्केको हुँदा अहिले पूर्ण रुपमा क्रस ओभर नभइसकेकोले  बजार बियरिसमा लागेको भन्न हतार हुन सक्छ। त्यसैले आउने दिनको बजारको अवस्था राम्रोसँग नियाल्न आवश्यक छ।

बोलिंगर ब्यान्डका आधारमा

यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्य रेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। बजारलाई बोलिंगर ब्यान्डअन्तर्गत हेर्दा मूल्यरेखाले केही समय पहिला अपर ब्यान्डलाई छोएर तल झरेको छ तर मध्य रेखाभन्दा माथि नै रहेको देखिन्छ। मध्य रेखाभन्दा माथि रहुन्जेल बजार बुलिस नै भएको अनुमान लगाउन सकिन्छ।

आरएसआईका आधारमा 

आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ। यसअन्तर्गत हालको बजारको आरएसआई ७० रहेको छ। जसको अर्थ हुन्छ ओभर बट  जोनमा छ। अघिल्लोपटक यो विन्दु ७८.९७ को तहमा पुगेपछि करेक्सन आएको थियो। बजारको न्यून आरएसआई ३७.८२ मा आउँदा अघिल्लोपटक बजारमा बुलिस यात्रा तय भएको थियो। हाल बजार ओभर बट जोनमा रहेकोले केही समय पर्ख र हेरको अवस्थामा पनि रहन सकिन्छ। कहिलेकाहीँ बुलिस बजार ओभर बट जोनमा लामो समय पनि रहन सक्छ। 

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण विभिन्न औजारमा आधारित अनुमान हो। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारको सिफारिस भने होइन। कारोबार गर्दा आफ्नो स्वविवेक प्रयोग गरिनुपर्छ।