– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी) वि.सं. २०४७ सालमा स्थापित कम्पनी हो। खासगरी यो कम्पनीले स्वेच्छिक पेन्सन योजना ल्याएको छ। जसअन्तर्गत हरेक सर्वसाधारणले स्वेच्छाले पेन्सन योजनामा सहभागी हुन सक्छन्। 

सीआईटीले शिक्षक, नेपाली सेना र सिभिल सर्भिस गर्नेहरुलाई दीर्घकालीन बचत गर्न प्रोत्साहन गर्छ। यो कम्पनीको मुख्य कार्यालय काठमाण्डौको नयाँबानेश्वरमा रहेको छ। यसका अलावा पोखरा, बुटवल, विराटनगर र अत्तरियामा पनि यसका शाखा कार्यालय रहेका छन्। 

सीआईटीमा संस्थापक समूहको ८० प्रतिशत र सर्वसाधरणको २० प्रतिशत सेयर स्वामित्व रहेको छ। दोस्रो बजारमा यो कम्पनीलाई लगानी समूहमा राखिएको छ। 

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सीआईटीको चुक्तापुँजी ४ अर्ब २५ करोड रुपैयाँ रहेको छ। कम्पनीको जगेडा कोषमा भने चुक्तापुँजीको चारगुणा बढी १६ अर्ब ५३ करोड रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीले ७७ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा २६ प्रतिशतले बढी हो। 

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २४.४  रुपैयाँ, बुक भ्यालु २०१ रुपैयाँ र रिर्टन अन इक्विटी १२.०९ प्रतिशत रहेको छ। कम्पनीको १० वर्षको औसत लाभांश दर २८.६ प्रतिशत रहेको छ।

कम्पनीले आर्थिक वर्ष २०७८–७९ का लागि २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.३१५८ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। यद्यपि वार्षिक साधारणसभा आह्वान गर्न बाँकी नै रहेकोले बुक क्लोजको मिति पनि तय भएको छैन। 

प्राविधिक पक्ष 

फियर एन्ड ग्रिड मिटरका आधारमा

फियर एन्ड ग्रिड मिटरका आधारमा सीआईटीको सेयर यो साता पनि साप्ताहिक बुलिस सेन्टिमेन्टमा रहेको देखिन्छ। फियर एन्ड ग्रिड मिटर २० भन्दा तल भए स्ट्रङ बियरिस तथा ८० भन्दा माथि भए स्ट्रङ बुलिस सेन्टिमेन्ट भन्ने बुझिन्छ।

कम्पनीको ५२ साताको उच्च मूल्य प्रतिकित्ता ३०१२ रुपैयाँ र न्यून मूल्य १७९२ रुपैयाँसम्म आएको देखिन्छ। हाल दोस्रो बजारमा यो कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता २०७९ रुपैयाँ रहेको छ। 

इचिमोकुका आधारमा 

इचिमोकुका आधारमा सीआईटीको सेयरभाउ लामो समय साइडवेज चलेको देखिन्छ। केही समयपहिले मूल्यरेखाहरु क्लाउड पोजिसनभन्दा माथि चलेका छन्। क्लाउड पोजिसन पनि रातोबाट हरियो बनेको छ। २६ दिनपछाडि चल्ने ल्यागिङ स्पान पोजिसन पनि मूल्यरेखाभन्दा माथि चलेको छ। यस आधारमा यो कम्पनीले कुनै पनि समयमा बुल यात्रा तय गर्न सक्ने देखिन्छ। 

बोलिंगर, म्याक्डी र आरएसआईका आधारमा

बोलिङगर ब्यान्डका आधारमा यो कम्पनीलाई डेली बेसमा हेर्दा मूल्यरेखाहरु हाल अप्पर ब्यान्डमा चलेको देखिन्छ। अप्पर ब्यान्डमा रातो क्यान्डल बनेका कारण अल्पकालमा केही करेक्सनको सम्भावना पनि रहन्छ। 

म्याक्डीमार्फत हेर्दा बुलिस क्रसओभर भ्यालिड नै रहेको छ। हिस्टोग्राम सकारात्मक नै रहेका छन्। 

आरएसआई हाल ६० को तहमा रहेको छ। यदि आगामी दिनमा यहाँभन्दा माथि पुगेमा अप ट्रेन्ड चल्न सक्छ। 

समग्रमा तीनवटै इन्डिकेटरमार्फत यो कम्पनीलाई हेर्दा अल्पकालमा सामान्य करेक्सन हुन सक्ने देखिन्छ। 

पिभट प्वइन्टका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ। यो कम्पनीको पिभट प्वइन्टमार्फत हेर्दा देखिने विन्दु निम्नानुसार रहेका छन्– 

बढेमा प्रतिरोध 

  • प्रतिरोध ३– २२३२
  • प्रतिरोध २– २१८०
  • प्रतिरोध १– २०८२

पिभट प्वइन्ट : २०४०

घटेमा सपोर्ट 

  • सपोर्ट १– १९५२
  • सपोर्ट २– १९००
  • सपोर्ट ३– १८१२

निष्कर्ष

सीआईटी आधारभूत रुपमा बलियो नै देखिन्छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार कम्पनीको चुक्तापुँजीको चारगुणा रकम जगेडा कोष रहेको छ। कम्पनीको ईपीएस पनि २४ रुपैयाँ रहेको छ। यो भनेको अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा भने सामान्य कम हो। कम्पनीको रिटर्न अन इक्विटीमा पनि अघिल्लो आर्थिक वर्षको तुलनामा समान्य गिरावट आएको छ। अघिल्लो आर्थिक बर्षको तुलनामा  कम्पनीको चुक्तापुँजी ३० प्रतिशत बढ्दा ईपीएस र रिटर्न अन इक्विटीमा सामान्य गिरावट आएको देखिन्छ। 

प्राविधिक रुपमा सीआईटीको सेयरमूल्यमा आगामी कारोबारमा सामान्य करेक्सन हुन सक्छ। तर, दीर्घकालको लगानीका लागि उपयुक्त नै हुन सक्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।