काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजारमा झिनो गिरावट आएको छ।

आज बजार ०.४१ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २१८३.२१ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.१० अंकले घटेर ४१३.१४ को विन्दुमा आर्लेको छ। कारोबार रकम हिजोको तुलनामा घटेर पौने ३ अर्ब रुपैयाँ बढी भएको छ। 

बजार जानकार सूर्यनारायण पौडेल बजार अहिले २१४० देखि २२०० को बीचमा साइडवेजमा चलेको देखिएको बताउँछन्। पुष्पकमल दाहाल नेतृत्वको सरकारमा अर्थमन्त्रीका रुपमा विष्णु पौडेल आएपछि सरकारात्मक बनेको बजार सरकारलाई कांग्रेस विश्वासको मत दिएपछि भने बजारमा अन्यौलता सिर्जना भएको पौडेलको भनाइ छ। 

अहिलेको घटेको बजारमा सेयर किनेर राख्ने र धैर्यता गर्ने लगानीकर्ताले नै आम्दानी गर्न सक्ने पौडेल बताउँछन्। ‘बैंकहरुले नयाँ लगानीकर्ताहरुलाई सस्तो सेयर धितो कर्जा दिइरहेको खबर सुनिन्छ’, उनले भने, ‘तरलता अधिक भएपछि राष्ट्र बैंकले बजारबाट ५ अर्ब रुपैयाँ तान्न लागेको छ। यी सबै खबरले बजार माथि नै जाने देखिन्छ।’

अर्का बजार जानकार अर्जुन थापा पनि बजार सुस्ताउनुमा राजनीतिक र ब्याजदर नै मुख्य कारण रहेको बताउँछन्। ‘सरकारलाई कांग्रेसले विश्वासको मत दिएसँगै केही अन्यौलता सिर्जना भएको छ’, उनले भने। 

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ६ वटामा हरियाली छाएको छ भने ७ वटामा रातो पोतिएको छ। 

यो दिन निर्जीवन बीमा समूह सर्वाधिक १.४९ प्रतिशतले उकालो लागेको छ। जीवन बीमा समूह १.२७ प्रतिशतले बढ्दा होटेल तथा पर्यटन समूहमा ०.७८ प्रतिशत, जलविद्युत समूहमा ०.८१ प्रतिशत, लगानी समूहमा ०.०७ प्रतिशत र व्यापार समूहमा ०.१७ प्रतिशतको बढोत्तरी भएको छ। 

आज वित्त समूह सर्वाधिक १.३६ प्रतिशतले ओरालो लागेको छ। अन्य समूह ०.८५ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.४३ प्रतिशत, विकास बैंक समूहमा ०.५५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.३३ प्रतिशत, लघुवित्त समूहमा ०.३३ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.३५ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २५४ कम्पनीको ७७ लाख ६४ हजार १५३ कित्ता सेयर २ अर्ब ८६ करोड ८२ हजार ८३९ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन समृद्धि फाइनान्सको सर्वाधिक ९ करोड ७० लाख रुपैयाँ बढीको कारोबार भएको छ। रिडी पावरको ८ करोड ६१ लाख रुपैयाँबराबरको कारोबार भएको आज आँखुखोला जलविद्युतको ७ करोड ३८ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ६७ लाख रुपैयाँ, अपी पावरको ६ करोड ४१ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ६ करोड ३४ लाख रुपैयाँ, कुमारी बैंकको ५ करोड ७७ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको ५ करोड ७२ लाख रुपैयाँ, तारागाउँ रिजेन्स होटेलको ५ करोड ६२ लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको ५ करोड ५६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज ४ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। लुम्बिनी जनरल इन्स्योरेन्स, आदर्श लघुवित्त र बाराही हाइड्रोपावरको सेयरभाउमा १० प्रतिशत तथा सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। 

यो दिन समृद्धि फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ८ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।