सेयर बजार होस वा अन्य व्यापार सबैको एउटै उद्देश्य हुन्छ– ‘नाफा कसरी अधिकतम गर्ने ?’

व्यापारको मुख्य उद्देश्य नै नाफा कमाउने भएपछि यसो हुनु पनि स्वाभाबिक हो। सेयर बजार त झनै बढीभन्दा बढी नाफा आशा गरेको क्षेत्र हो। जहाँ दसगुणा, बीसगुणा र सयगुणासम्म नाफा हुन्छ। 

यहाँनेर प्रश्न गर्नुहोला– के सेयर बजारबाट सयगुणासम्म नाफा हुन्छ त? के छ त्यस्ता आधार र प्रमाण ?

आज अमेरिकाको टेस्ला कम्पनीलाई हेर्नुहोस्। जुन कम्पनीको भाउ बढेर ८५४ डलरभन्दा बढी पुगेको छ। यदि आजभन्दा १० वर्षपहिले १० हजार डलर लगानी गरेको भए आज सेयरको भाउ बढेर १८ लाख अमेरिकी डलर हुन्थ्यो। 

के यति पैसा यति छाटो समयमा संसारमा कहीँकतै काम गरेर कमाउन सम्भब छ त ? 

यो पंक्तिकारको देशविदेशको अनुभवमा यो सम्भव छँदैछैन। केही गरी सम्भव छ भने त्यो लगानी गरेरमात्र सम्भव छ। यसको अर्थ काम नै नगर्ने भनेको होइन। तपाइँले काम गरेर बचाएको पैसालाई दसगुणा, बीसगुणा वा सयगुणा कसरी बनाउने भन्नेमात्रै हो। 

अझै प्रस्ट भन्नुपर्दा काम गरेर होस् वा अन्य क्षेत्रबाट कमाएको पैसा भनेको एउटा मकैको घोगाको दानाजस्तै हो। जसरी एउटा सय दाना भएको मकैको घोगा जम्मा एउटा दानाबाट भयो, त्यसैगरी नै हाम्रो बचतको पैसा कसरी सयगुणा बनाउने भन्ने महत्वपूर्ण हो। 

त्यो कसरी सम्भव छ त ? 

त्यो यदि सम्भव त लगानी गरेरमात्र सम्भव छ। अर्थात् सेयरमा लगानी गर्ने। सेयरमा लगानी त गर्ने तर कस्ता कम्पनीमा गर्ने ? यक्ष प्रश्न नै यही हो। 

यदि तपाइँ विदेश अर्थात् विकसित देशमा हुनुहुन्छ र लगानी गर्ने अधिकार छ भने उत्पादन तथा आईटी क्षेत्र हुन सक्छ जस्तै– टेस्ला कम्पनी। लगानीका लागि आईटी र उत्पादन क्षेत्र किन पनि उपयुक्त हुन्छ भने यी क्षेत्रको व्यापार अन्यभन्दा राम्रो हुन्छ। 

वारेन बफेटको सिद्धान्त हेर्न हो भने लगानीका लागि वर्तमान र भविष्यको व्यापार हेरिनुपर्छ। 

त्यसो भए नेपालमा के त ? 

एकछिन गहिरिएर सोचौँ– नेपालमा सबैभन्दा बढी राम्रो व्यापार–व्यवसाय के छ ? अर्थात् मान्छेलाई के आवश्यकता छ र के किन्छ ? 
मान्छेका आवश्यकता भनेका गास, बास र कपास नै हो। अब सोच्न थालौँ गासका लागि उत्पादन गर्ने कम्पनी कुन–कुन हुन् ? त्यसैगरी बासका लागि कुन–कुन हुन् ? बासका लागि के आवश्यकता हुन्छ ? 

उदाहरणका लागि अहिले हरेक मान्छेलाई बास आवश्यक। देस पनि विकास निर्माणको चरणमा छ। यी सबै  निर्माणका लागि ढुंगा, गिट्टी तथा सिमेन्टको आवश्यकता छ। क्रसर उद्योग तथा सिमेन्ट कम्पनीको आम्दानी नेपालमा राम्रो देखिन्छ। यस्ता कम्पनीमा बेलैमा पैसा लगाउनु बुद्धिमानी हुन्छ। 

केही मान्छे अथवा लगानीकर्ताले बजारमा भनेको सुनिन्छ– ‘हेर्नुस् सेयर बजार भनेको एउटा समुद्र हो, जहाँ जसले जत्रो भाँडो लिएर जान्छ, त्यति नै पानी लिएर फर्किन्छ।’ त्यसैले लोटा लिएर जानेले लोटामै ल्याउने हो। गाग्री लिएर जानेले गाग्रीमा नै ल्याउने हो अनि पानीको ट्यांकी लिएर जानेले ट्यांकीमै ल्याउने हो। यी सबैको आआफ्नो क्षमतामा हुन्छ। 

सेयरबजार यस अर्थमा पनि समुद्र हो कि जहाँ बेला–बेला मौसमको आद्रता र हावाको चापसँगै सानाठूला ज्वारभाटा चल्छन्। त्यसैगरी सेयर बजारमा पनि उत्तारचढाव भई नै रहन्छ। त्यस्तो बेला सचेत भएर सुरक्षित लगानी गर्नुपर्छ।

यो पंक्तिकारले सधैँ भन्दै र लेख्दै आएको विषय के हो भने सेयर बजारमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको कम्पनीको छनौट हो। दोस्रो भनेको धेयैता हो अनि तेस्रो भनेको आफ्नो बजार रणनीति र व्यापार योजना हो। हरेकको आ–आफ्नो बजार रणनीति र योजना हुन्छ। 

सेयर बजारमा बजार रणनीति र योजनामा के–के हुन्छन् त ? 

त्योभन्दा पहिला अर्थशास्त्रको एउटा सिद्धान्त छ– ‘मान्छे सँग सीमित साधन र असीमित आबश्यक्ता हुन्छ।’ अर्थात सबैसँग सीमित पैसा हुन्छ। त्यही पैसालाई टर्बाइन घुमाएरसरह घुमाउने र बढीभन्दा बढी उत्पादन गर्ने भन्ने कुरा प्रमुख हो। 

यो कसरी सम्भव छ त सेयर बजारमा ? 

‘हाई रिस्क हाई गेन’ यो हामीले सुनेको र पढेकै कुरा हो। अहिले धेरैले भन्दै आएको र महसुस गरेको एउटा कुरा हो– बजार झन्डै २३०० को विन्दु नजिक पुग्दा पनि बैंकिङ क्षेत्र नबढ्नु। चलाख लगानीकर्ताले जहिले पनि उच्च जोखिम भएको क्षेत्रबाट उच्च प्रतिफल लिएर विस्तारै सुरक्षित अवतरण गरेका हुन्छन्। यसको अर्थ बैंकिङ क्षेत्रको समय आउँछ। त्यसैले बैंकको सेयर सधैँ ढिले बढेको हुन्छ।

नाफा बढी घाटा कम कसरी होला ?

१. ट्रेडिङलाई भन्दा लगानीमा जोड दिने : यदि बजार बुलिस छ भने हामीले एउटै सेयर पटक–पटक किनबेच गर्नुभन्दा होल्ड गर्नु बुद्धिमानी हुन्छ। तर बियरिस छ भने ‘स्टप लस’ विधिमार्फत सेयर बेचेर केही समय बजार स्थिर नहुन्जेल कुर्ने। 

२. विवेकशील लगानीकर्ता हुने : बजार जहिले पनि घटेपछि बढ्छ र बढेपछि घट्ने हुँदा किनबेच गर्न हतार नगर्ने।

३. पेनाल्टीबाट जोगिने र हकप्रद भर्न नछुटाउने : कहिलेकाहीँ आफूसँग भएको भन्दा बढी अथवा नभएको सेयर बेचे अनावश्यक जरिवाना तिनुपर्छ। यो बिषय सिस्टमले चेक गर्ने भए पनि आफैँ होसियार भएमा राम्रो हुन्छ। आफूसँग भएको सेयरका बारेमा ज्ञान राख्ने र  सूचना लिने। हकप्रद भर्ने समय एक महिना अथवा १५ दिनको हुने हुँदा सुरुमै भर्ने।

४. बजारमा आउने आईपीयो तथा एफपीओ नछुटाई आफूलाई अधिकार लाग्ने एकाघरभित्रको सबैको भर्ने।