काठमाण्डौ । सेयर बजारमा दिनहुँ नयाँ–नयाँ उचाइ र कारोबार रकमले रेकर्ड बनाइरहेको छ। बुलिस ट्रेन्डमा रहेको बजारले आमलगानीकर्तामा सेयर खरिदबिक्रीको उत्साहपूर्ण माहौल तताइरहेको छ।

परिसूचकको उकालो गतिसँगै अब बजारले कुन दिशा तय गर्ला भनी बिजशालाले सेयर बजारका प्राविधिक विश्लेषक अशोककुमार शाहलाई जिज्ञासा राखेको थियो।

आज सुरुआती कारोबारमै रेसिस्टेन्स २६७१ लाई ब्रेक गरी २६७३ सम्म पुगेको देखिन्छ। प्राविधिक विश्लेषक शाह अबको नेप्से २६७० क्लोजिङ बेसिसमा इन्डेक्स बजार बन्द भएमा पहिलो अर्को टार्गेट २६९० प्रक्षेपण गरेका छन्। जहाँ नेप्से अघिल्लो बुल साइकलले फेबोन्यासी एक्सटेन्सन १ रहेको उनको जिकिर छ। ‘यद्यपि पहिलो रेसिस्टेन्स २५२० लाई सपोर्टका रुपमा लिइएको छ’, उनी भन्छन्, ‘तत्काल सपोर्ट २५२० आसपास रहेको देखिन्छ भने मिडल ब्यान्ड सपोर्ट (बुलिंगर ब्यान्ड) २५०५ रहेको छ भने जुन महत्वपूर्ण सपोर्ट हुन सक्छ।’

आरएसआई ६० लेभलभन्दा माथि नै रहेका कारण बाई जोनमा नै रहेको उल्लेख गर्दै शाहले डो ट्रेन्डअनुसार नेप्से दैनिक, साप्ताहिक र मासिक ३ वटै चार्ट बुलिस रहेको दाबी पनि गरे। माइनर ट्रेन्डअनुसार पनि नेप्से बुलिस नै रहेको उनको ठम्याइ छ। ‘नेप्से २४८१ भन्दा माथि रहँदासम्म दैनिक चार्टमा पनि नेप्से बुलिस नै देखिन्छ’, उनी भन्छन्।

मुभिङ एभरेज

क्लासिक थिओरी २०, ५० र २०० एसएमएअनुसार पनि स्पष्ट रुपमा बुलिस नै रहेको विश्लेषक शाह बताउँछन्। नेप्से आफ्नो २० दिन, ५० दिन र २०० दिनको दैनिक मुभिङ एभरेजभन्दा माथि नै रहेको शाहले बताए। ‘त्यसैगरी २० दिनको मुभिङ एभरेज ५० दिनको भन्दा माथि रहेको र ५० दिनको मुभिङ एभरेज २०० दिनको भन्दा माथि रहेको छ। जसले चाहिँ बजार स्पष्ट रुपमै बुलिस नै रहेको जनाउँदछ’, शाहले भने।

इन्डिकेसन एनलाइसिस

नेप्से यतिखेर बुलिंगर ब्यान्ड अपर ब्यान्डसँगसँगै ट्रेड भइरहेको छ। त्यसैगरी लिडिङ इन्डिकेटर आरएसआई ६० लेभलभन्दा माथि छ। अर्को शक्तिशाली लिडिङ इन्डिकेटर मुमेन्टम ओस्सिलेटर पनि स्थिर रुपमा बुलिस नै रहेको शाह दाबी गर्छन्।

यसैगरी बुलिंगर ब्यान्ड, आरएसआई र मुमेन्टम ओस्सिलेटर ३ वटै अवस्थाले बुलिस नै रहेको जनाएको छ। यसले बजारमा केही उत्तारचढाव स्वभाविक ठहर्ने जिकिर गरेका शाह समग्र ट्रेन्ड चाहिँ बुलिस नै रहेको बताउँछन्।

समूहगत सूचक के होला ?

बैंक तथा विकास बैंक भने बुलिस सेटअप नै रहेको छ। वित्त उपसमूहको दैनिक चार्टमा बुलिस ब्यान्ड संकुचित भइरहेको छ। जसले केही समय साइडवेज जाने संकेत गर्दछ।

बीमा उपसमूह गत सातादेखि नै रेसिस्टेन्स १ आसपास कारोबार भइरहेको छ। जीवन बीमामा बुलिंगर ब्यान्ड संकुचित भएकोले मुमेन्टम ओस्सिलेटर करेक्सन जोनमा झरेको छ। यसको अर्थ केही समयसम्म साइडवेज वा फाइनल करेक्सन हुने देखिन्छ। बुलिंगर ब्यान्ड ब्रेकआउट नहुँदासम्म प्रतीक्षा गर्नु नै राम्रो हुने प्राविधिक विश्लेषक शाहको सुुझाव छ।

निर्जीवन बीमामा पनि बुलिंगर ब्यान्ड संकुचन सुरु भएकाले मुमेन्टम ओस्सिलेटर करेक्सन जोनमा रहेको र माइनर करेक्सन जाने शाहको दाबी छ।

हाइड्रोपावरले भने मिडल ब्यान्ड सपोर्ट लिएर अपसाइड ब्रेकआउट गर्ने तरखरमा रहेको शाहले बताए। क्लोजिङ बेसिसमा आरएसआई ६० भन्दा माथि नै रहेकाले हाइड्रोपावर केही अपसाइड मुभ बनाउन सक्ने शाहको भनाइ छ। 

अन्य समूहमा बुलिंगर ब्यान्ड, आरएसआई र मुमेन्टम ओस्सिलेटर ३ वटै बुलिस ट्रेन्ड नै देखाएको छ भने तत्काल अपसाइड रेसिस्टेन्स २२२६ रहेको छ। तत्काल सपोर्ट भने २०६८ देखिन्छ।