– अर्जुन तिमिल्सिना

काठमाण्डौ। कोरोना संक्रमण बढ्दै गएपछि पुँजी बजारमा पनि प्रभाव देखिन थालेको छ।

गत साता पनि करेक्सन व्यहोरेको बजारमा यो साताको पहिलो दिनै भारी गिरावट आएको छ। केही जानकारहरुले बजार घट्नुमा लगानीकर्तामा कोरोनाको त्रास देखिएको बताएका छन्। केही जानकारहरुले भने अहिले नै आत्तिहाल्नुपर्ने अवस्था नरहे पनि बजारमा केही टाठाबाठा लगानीकर्ताहरु साना तथा नयाँ लगानीकर्ताहरु कोरोना महामारी हल्ला पिटेर बजार घटाउने खेलमा लागेको बताउँछन्। 

नेपाल इन्भेस्टर फोरमका उपाध्यक्ष तुलसीराम ढकाल हल्ला चलेजस्तो बजार घटिहाल्नुपर्ने अवस्था नरहेको बताउँछन्। ‘एक पक्ष अहिले हल्लाकै भरमा आफूसँग भएका सेयर धमाधम बेचिरहेका छन्’, उनले भने, ‘अर्को पक्ष भने यही अवसरको सदुपयोग गर्दै धमाधम सेयर उठाइरहेका छन्।’

अहिले सेयर बेचेर बाहिरिहाल्नुपर्ने अवस्था भने नरहेको ढकालको भनाइ छ। ‘कसैकसैले कोरोना संकटबीच आवश्यक पर्ने पैसाको जोहोका लागि सेयर बेचेका हुन सक्छन् तर धेरैजसोले अरुको लहलहैमै लागेर हल्लाकै भरमा धमाधम सेयर बेचिरहेका छन्’, उनले भने, ‘यस्तो बेला लगानीकर्ताहरुलाई सचेत हुन म आग्रह गर्छु।’

ढकालले गत साता र आजको घटाइबाट बजारमा लगभग करेक्सन सकिएको संकेत मिलेको बताए। अफसिजन मानिने चैतमा बढेको बजार अहिले कोरोनाको हल्लाकै भरमा घटाउने समूह सक्रिय रहेको ढकालले बताए। ‘तर बजारमा अहिले राम्रा कम्पनीहरुको सेयर किनेर उठाउने बेला हो र आफूसँग भएका सेयर होल्ड गर्ने बेला हो’, उनले भने, ‘म आमलगानीकर्ताहरुलाई आग्रह गर्छु, घटेको बेला नआत्तिनुहोस्, यो बजारले लिएको प्राकृतिक करेक्सन नै हो।’

केही बैंक तथा वित्तीय संस्थाहरुले सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तीय विवरणलाई इंगित गर्दै ढकालले भने, ‘बिहानीले उज्यालो दिनको संकेत गरेजस्तै केही कम्पनीको वित्तीय विवरणले अन्य कम्पनीहरुको पनि वित्तीय विवरण राम्रै आउने संकेत गरेको छ। अनि यस्तो बेला किन आत्तिने ?’

ढकालले बैंकको सीडी रेसियो केही टाइट भएको देखिए पनि आधार दर तल झरेका कारण यो सेयर बजारका लागि सकारात्मक नै रहेको बताए। ‘चौथो त्रैमास भनेको बैंक तथा वित्तीय संस्था ऋण असुली गर्ने बेला होला, बजेट पनि आउँदैछ। मलाई लाग्छ तरलतामा दबाब पर्ने छैन’, उनले भने, ‘बजार मूल्यलाई न्यायोचित ढंगले कम्पनीले दिने प्रतिफलका आधारमा ढुक्क भएर त्यस्ता कम्पनी लगानी गर्न म आग्रह गर्छु’, उनले भने। 

बजार जानकार ताराप्रसाद फुल्लेल बजारमा प्यानिक सेल नआएको बताउँछन्। ‘केही लगानीकर्ता कोरोनाका कारण डराएका होलान्’, उनी भन्छन्, ‘अहिले प्रविधिमा विकास भएको छ, बजार पनि बन्द हुने अवस्था छैन। अनलाइनमार्फत नै कारोबार हुने भएकोले ढुक्क भएर सेयर किनबेचमा सहभागी हुन म आमलगानीकर्तालाई आग्रह गर्छु।’

बैंक तथा वित्तीय संस्थाहरुको तेस्रो त्रैमासको रिपोर्टहरु राम्रै आइरहेको उल्लेख गर्दै फुल्लेल प्रतिफललाई आधार मानेर निर्धक्क भएर राम्रो कम्पनीमा लगानी गर्दा उत्तम हुने बताउँछन्।

सेयर लगानीकर्ता दबाब समूहका महासचिव नयन बास्तोला आजको बजार घटाइले महामारीबाट हुनसक्ने सम्भावित लकडाउनको त्रासमा लगानीकर्ताहरु परेजस्तो देखिएको बताउँछन्। ‘बजारको घटाइ अल्पकालीन तथा करेक्सन पनि हुन सक्छ’, उनी भन्छन्, ‘बैंकिङ प्रणालीमा तरलता सहज हुँदै गएको छ, ब्याज पनि बढेको छैन, कोरोनाको खासै असर पर्दैन, बजारले केही दिनमै युटर्न लिन सक्छ।’

सरस्वती क्याम्पसका एमबीएम संकायका निर्देशक केपी पाण्डेले कोरोनाकै प्रभाव भने बजारमा नपर्ने स्पष्ट पारे। ‘सरकारले नै स्थानीय तहहरुलाई संक्रमण दर बढ्दै गएमा लकडाउन गर्ने जिम्मेवारी दिएका कारण तत्काल देशव्यापी लकडाउन हुने सम्भावना कम छ’, उनले भने, ‘त्यसैले सेयर बजारमा कोरोना र यसको नियन्त्रणका लागि लगाइने लकडाउन खासै प्रभाव पार्दैन, त्यही भएर लगानीकर्ताहरु ढुक्क भएर कारोबार संलग्न भए हुन्छ।’

पाण्डेले अहिले बजारमा केही ठूला लगानीकर्ताहरुले पोर्टफोलिया व्यवस्थापन गर्दा सामान्य करेक्सन आएको हुन सक्छ। ‘एक–दुई दिन अझै करेक्सन होला तर बजार धेरै तल जाँदैन’, उनले भने, ‘कारोबार रकमले समेत साथ दिइरहेको छ, यसको मतलब बजार सकारात्मक नै छ।’

यतिबेला सरकारको पुँजीगत खर्च पनि बढ्दै गएकोले बैंकहरुमा खासै तरलता दबाब सिर्जना नहुने पाण्डेको तर्क छ।