– अनन्त्य सुन्दर

काठमाण्डौ । सेयर बजार ३२०० को विन्दुबाट निरन्तर घट्दो क्रममा छ। बजार घटेसँगै दैनिक हुने कारोबार ३–४ अर्बमा खुम्चिन थालेको छ। 

अहिले अधिकांश लगानीकर्ता बजारमा के गर्ने ? कस्तो लगानी रणनीति बनाउने ? भनेर अन्यौलमा रहेका देखिन्छन्। बजारका जानकारहरु भने नेप्सेले यसअघिको अलटाइम हाई ब्रेक गरेर अगाडि बढ्ने बताउँदै आएका छन्। 

सेयर बजारका प्राविधिक विश्लेषक विष्णु बस्याल भन्छन्, ‘३२०० यो बुल मार्केटको टप होइन। बजार अहिले पनि २५७० को सपोर्ट जोनमै छ। अर्को सपोर्ट २५२५ मा छ। त्यसैले अहिले नै बियर सुरु भयो भनेर डराउनुपर्ने अवस्था छैन। बजारले २५०० अंक ब्रेक गरेमात्र १–२ महिना बियर लम्बिन सक्छ।’

‘बजार फेरि ३२०० पुग्दैन भन्दै गर्दा कहिलेसम्म पुग्दैन भनेर भन्नुपर्यो’, बस्याल भन्छन्, ‘कि ३२०० नै पुग्दैन भनेर नेपाली कागजमा लेखेर दिन सक्नुपर्यो। मेरो विश्लेषणले बजार कम्तीमा ३८०० सम्म पुग्छ। कहिलेसम्म पुग्छ भन्ने मात्र महत्वपूर्ण कुरा हो।’

सेयर बजारका सक्रिय लगानीकर्ता केशव कोइराला अर्थात् काका बजार केही महिना साइडवेज जाने बताउँछन्। ‘अहिले बजारमा कारोबार साना र नयाँ लगानीकर्ता साथै ट्रेडर्सहरुले मात्र गरिरहेका छन्’, काका भन्छन्, ‘अहिले तरलता अभावले गर्दा तत्कालै ठूला लगानीकर्ता बजार पस्ने पक्षमा छैनन्। तरलता सहज नभई बढेको बजार दिगो हुँदैन। तर, तरलताको अवस्था सहज भएसँगै बजार बढेर नयाँ हाई बनाउने निश्चित छ।’

काका भन्छन्, ‘बजार केही दिन घट्यो भने बियर सुरु भयो अब बजार १८००–१९०० मा आउँछ भनेर हल्ला पिट्छन्। बजार केही दिन बढ्यो भने ३५०० पुग्छ भन्छन्। अहिले तत्कालै बजारमा ठूलो घटबढ हुँदैन।’

‘२८००–२९०० मा भएको नेपाली सेयर बजार विशिष्ट अवस्थाले गर्दा बजार छोटो समयमा नै ह्वात्तै बढेर ३२०० पुग्यो। त्यसैले अहिले बजार २००–३०० अंकले मात्र घटेको हो, बाँकी बोनस थियो भनेर लगानीकर्ताहरुले बुझ्नुपर्छ’, काका थप्छन्। 

नेपाल इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार नघट्नु पर्ने बजार घटेको देख्दा अचम्मित भएको बताउँछन्। ‘बजार दैनिक रुपमा ४०–५० अंकले घट्नु कुनै कारण छैनन्। बजारको घटाइ हेर्दा नयाँ लगानीकर्ताहरुको अपरिपक्वता पनि देखिन्छ’, रौनियार भन्छन्, ‘विदेशमा बजार बढ्दा लगानीकर्ताहरु सेयर बेच्छन्, घट्दा किन्छन्। तर नेपालमा भने लगानीकर्ताहरुले ठिक विपरीत गर्ने गरेका छन्।’

बजार ६०० अंकभन्दा बढीले घटेको उल्लेख गर्दै रौनियारले अब धेरै घट्ने ठाउँ नै नरहेको दाबी गरे। ‘बजारले मौद्रिक नीति पनि पचाइसक्यो। अहिले नकारात्मक कुराहरू पनि त्यस्तो केही छैन। त्यसैले मेरो विचारमा अहिले बजारमा निर्धक्क भएर लगानी गर्ने बेला हो।’