– रेखा चन्द

काठमाण्डौ । पछिल्लो समय सेयर बजार निरन्तर ओरालो लागिरहेको छ। बजार फर्किन नसक्दा लगानीकर्ताहरु आत्तिएका छन्। नेपाल राष्ट्र बैंकका केही नीतिका कारण बजारमा सुधार आउन नसकेको लगानीकर्ताहरुको आरोप छ। 

राष्ट्र बैंकका पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्री भने लगानीकर्ताकै कारण सेयर बजार अस्थिर बनेको बताउँछन्। ‘अहिले सेयर बजार मापदण्डअनुसार चलेको छैन’, उनले भने, ‘यसको मुख्य कारण लगानीकर्ता आफैँ हुन्।’ 

ठूला तथा बाठा लगानीकर्ताले मात्रै बजारबाट नाफा लिन सफल भएको तर साना लगानीकर्ताको लगानी डुबेको क्षेत्रीले बताए। ‘यही अवस्थालाई मैले सेयर बजार नियमअनुसार नचलेको भनेको हुँ’, उनले भने। 

‘बैंकले पैसा दिनुपर्छ, सरकारले अनुकूल नीति लिइदिनुपर्छ भन्ने अनि बजार बढेको बेला हौसिएर लगानी गर्दै जाने प्रवृत्ति छ’, क्षेत्रीले भने, ‘जब बैंकले ब्याजदर बढाउँछ, पैसा दिने स्थिति हुँदैन, साना लगानीकर्ताले बैंकबाट लिएको रकम बजार घट्दा घाटामै सेयर बेचेर तिर्नुपर्ने अवस्था आउँछ’, उनले भने, ‘त्यसबाट ठूला लगानीकर्ताले मात्रै नाफा गर्ने अवस्था हुन्छ अनि साना लगानीकर्ता मर्का पर्छन्।’ 

सेयर बजारमा लाग्नेहरुमा धैर्यता हुनुपर्ने क्षेत्रीको भनाइ छ। ‘मुख्य कुरा पर्खिन सक्नुपर्छ, लगानीकर्ताले अहिले लगानी गरेर १ वर्ष कुर्यो भने त्यसको प्रतिफल पाइहाल्छन्’, उनले भने, ‘तर, लगानीकर्तामा धैर्यता देखिँदैन। १० रुपैयाँ नाफा हुनेबित्तिकै बिक्री गर्ने प्रचलन छ।’

अहिले बैंकहरुमा तरलता अभावका कारण पैसा नहुनाले साना लगानीकर्ता मर्कामा परेको क्षेत्रीको ठहर छ। ‘पहिल्यै किनेको सेयर पनि धमाधम घाटा खाएर बेच्नुपर्ने अवस्थामा साना लगानीकर्ता छन्’, उनले भने।

केही समययता बजार सुधार र विकासको माग गर्दै लगानीकर्ताहरु आन्दोलनमा उत्रिँदा पनि बजारमा सुधारको कुनै संकेत देखाएको छैन। विभिन्न संघसंगठनका नेता तथा लगानीकर्ता पुँजीबजारको विकासका लागि भन्दै कहिले सेबोन, नेप्से र राष्ट्र बैंक पुगिरहेका छन् त कहिले दलका नेताहरुलाई भेटेर ज्ञापनपत्र बुझाइरहेका छन्। तर, लगानीकर्ताका माग सम्बोधन हुने छाँटकाँट देखिँदैन। 

हिजो राष्ट्र बैंक घेराउ गर्न पुगेका लगानीकर्ता आज नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर १९ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका छन्।  

यस्तै पुँजीबजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइराला आमरण अनशन बसेको ६ दिन पुग्दासमेत सबै निकाय मौन छन्। कुनै निकायबाट पनि लगानीकर्ताका माग सम्बोधन हुन सकिरहेका छैनन्।