– प्रकाश न्यौपाने
काठमाण्डौ । नेपालको सेयर बजारमा लगानीकर्ताको संख्या बढ्दै गएको छ। करिब २० महिनापहिले बजारले उच्च विन्दु चुम्दै गर्दा नयाँ लगानीकर्ताको संख्या छोटो समयमै ह्वात्तै बढेको थियो।
जब बजारमा करेक्सन आउन थाल्यो तब बजारप्रति लगानीकर्ताको आकर्षण पनि घट्दै गएको देखिन्छ। त्यसपछिका दिनहरुमा लगानी गरेका अधिकांश अहिले घाटामा छन्।
उच्च विन्दु पुगेको बेला बजार छिरेर हालसम्म पनि होल्डमै बसेका लगानीकर्ताको लगानी निकै घटिसकेको छ। सेयर बजारले दिने खुसी र पीडा दुवै कुराको अध्ययन नगरी बजार छिरेका लगानीकर्ताको भने यतिबेला बेहाल भएको छ।
बजार सुस्ताएकै कारण हिजोआज ब्रोकर हाउसहरु सुनसान देखिन्छन्। अहिले अधिकांश ब्रोकर हाउसमा लगानीकर्ता उपस्थिति खासै देखिँदैन। प्रायः ब्रोकर हाउसका डिप्ले पनि बन्द रहेका देखिन्छन्। बजार बुल ट्रेन्डमा रहेको बेला ब्रोकर हाउसमा लगानीकर्ताको निकै घुइँचो देखिन्थ्यो। नयाँ खाता खोल्ने, सेयर खरिद–बिक्री गर्ने लगानीकर्ताको भीडले ब्रोकर हाउसका कर्मचारीलाई एकैछिन पनि फुर्सद हुँदैनथ्यो।
पछिल्लो समय बजार सुस्ताएर लगातार घाटा हुन थालेपछि लगानीकर्ताहरु ब्रोकर हाउस आउनै छाडेको एक ब्रोकर सञ्चालकले बताए। ‘अहिले त अनलाइनबाट सेयर खरिद–बिक्री गर्ने पनि ह्वात्तै घटेका छन्’, ती सञ्चालकले भने।
ती सञ्चालकका अनुसार पछिल्लो समय बजारमा छोटो समयका लागिमात्र लगानी गर्नेहरुको संख्या बढ्दै गएको छ। ‘अनलाइनबाटै कारोबार गर्न मिल्ने भएर होला अहिले धेरैजसो लगानीकर्ताले बजारको अवस्था घरबाटै निहालिरहेका हुन्छन्’, ती सञ्चालकले भने, ‘अहिलेको बजारको कारोबार अधिकांश अल्पकालीन लगानीकर्ताका कारण मात्र भइरहेको छ।’
हिजोआज सबै क्षेत्रमा मन्दी आउँदा सेयर बजार पनि थला परेको अर्का ब्रोकर सञ्चालक बताउँछन्। ‘अहिले धेरै ब्रोकर हाउसलाई आन्तरिक खर्च धान्नसमेत मुस्किल परिरहेको छ’, ती सञ्चालकले भने, ‘बजार बुल भएको बेला हरेक दिनको काम राति अबेरसम्म बसेर गर्नुपरेको तर अहिले भने भएका कर्मचारीसमेत फुर्सदिला भएका छन्। तर, यो अवस्था भनेको केही समयका लागिमात्र हो।’
विगतको बियरिसमा पनि यस्तै अवस्था सिर्जना भएको र अहिले पनि त्यही अवस्था देखिएको अर्का एक ब्रोकर सञ्चालकले बताए। ‘बजार उच्च विन्दु भएको बेला ब्रोकरहरुले दिएको अग्रिम खरिद सुविधा प्रयोग गरेका केही लगानीकर्ताले हरेक ब्रोकरमा सेयर खरिदको रकम तिर्न बाँकी छ’, ती सञ्चालकले भने, ‘लगानीकर्ताको पीडा बुझेर हामीले अहिलेसम्म पनि थामिराखेका छौँ। बजारले लय लिन थालेपछि लगानीकर्ता साथीहरु फेरि ब्रोकर हाउसमा फर्किनेछन् भन्ने विश्वास छ।’
ब्रोकर हाउसमा भेटिएका एक पुराना लगानीकर्ता सबैतिरको महौल सकारात्मक बन्दै गएकोले बजारले पनि लय समात्नेमा आशा रहेको बताउँछन्। ‘अब नयाँ ब्रोकर थपिँदैछन्, बैंकहरुले समेत ब्रोकर लाइसेन्स पाउनेछन्’, ती लगानीकर्ताले भने, ‘बैंकहरुका शाखा गाउँ–गाउँ पुगेका छन्। उनीहरुले थप नयाँ लगानीकर्ता र रकम बजारमा भित्र्याउँदै जानेछन्।’
केही समयपछि आर्थिक मन्दीको प्रभाव घट्दै जाने ती लगानीकर्ता बताउँछन्। ‘त्यसैले बजारमा छिट्टै सकारात्मक प्रभाव देखिन थाल्ने मलाई विश्वास छ’, ती लगानीकर्ताले भने, ‘त्यसपछि मात्र लगानीकर्ताको मनोबल बढ्दै जाने र लगानी थपिँदै जानेछ।’
17 minutes ago
35 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
13 hours ago