– रेखा चन्द

काठमाण्डौ । अहिले नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीतिको तयारीमा व्यस्त छ। सरकारले जेठ १५ गते बजेट ल्याएसँगै राष्ट्र बैंकले पनि मौद्रिक नीतिका बारेमा छलफल गरिरहेको छ। राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले केही दिनअघि एक सूचना जारी गर्दै मौद्रिक नीतिका लागि रायसुझाव दिन आग्रह गरेको छ। 

राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री विभिन्न कुराहरुलाई मध्यनजर गर्दै राष्ट्र बैंकले मौद्रिक नीति ल्याउनुपर्ने बताउँछन्। व्यापार घाटा कम गर्ने, मूल्यवृद्धि रोक्ने, उद्योगधन्दा र आयातलाई चलायमान बनाउने खालको नीति राष्ट्र बैंकले मौद्रिक नीतिमा समेट्नुपर्ने उनको सुझाव छ। 

आयात प्रतिस्थापन गर्ने, आन्तरिक उत्पादन वृद्धि गर्ने, उद्योगका लागि मुलुकमै सक्षमता दिलाउनुपर्नेलगायतका नीति मौद्रिक नीतिमार्फत आउनुपर्ने क्षेत्रीको भनाइ छ। ‘अहिलेको अवस्थामा मौद्रिक नीतिमार्फत सबै कुराको सुन्दर पक्ष ल्याउन त गाह्रै होला’, क्षेत्रीले बिजशालासँगको कुराकानीमा भने, ‘मूल्यवृद्धिबाट आमजनता आहात भएका बेला राष्ट्र बैंकले मौद्रिक नीतिमा व्यापार घाटा कम गर्ने, मूल्यवृद्धि रोक्ने, आयातलाई प्रतिस्थापन गर्ने, आन्तरिक उत्पादन वृद्धि गर्नलगायतका आवश्यक नीति समेट्नैपर्छ।’

बैंकिङ प्रणालीमा देखिएको तरलताको समस्या समाधान गर्ने खालको नीति राष्ट्र बैंकले लिनुपर्ने पूर्वगर्भनर क्षेत्रीको भनाइ छ। ‘बजेटमा लिइएका गलत नीतिको नकारात्मक असर अर्थतन्त्रमा परेको अवस्था छ, त्यसलाई सच्याउन राष्ट्र बैंक अघि बढ्नुपर्छ’, उनले भने। 

वित्तीय स्थायित्व, भुक्तानी प्रणाली सुदृढलगायतलाई राष्ट्र बंैकले मूल रुपमा हेर्न आवश्यक रहेको क्षेत्रीले औँल्याए। ‘यद्यपि पोहोरका वर्षहरुमा जस्तो यो वर्ष मौद्रिक नीति नआउन सक्छ’, उनले भने, ‘राष्ट्र बैंकले गत वर्ष ल्याएको जस्तो मौद्रिक नीति यो वर्ष ल्याउँदैन किनकि पोहोर कोरोना महामारीका कारण खुम्चिएको अर्थतन्त्रलाई उकास्नु थियो तर यो वर्ष स्थिति फरक छ।’ 

राष्ट्र बैंकले सरोकारवाला निकाय र विज्ञहरुसँग विस्तृत रुपमा छलफल गरी मौद्रिक नीति तयार पारी सार्वजनिक गर्नुपर्ने क्षेत्री बताउँछन्।