काठमाण्डौ । सरकारले प्रतिस्थापन विधेयकमार्फत संसोधित बजेट ल्याएसँगै त्यसलाई सपोर्ट गर्ने गरी मौद्रिक नीति पनि संसोधित आउने हो कि भन्ने चर्चा चलिरहेको छ । 

यो चर्चाको विषयलाई नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले बजारमा चलिरहेको चर्चाको विषयमा प्रष्ट पार्दै आफ्नो धारणा सार्वजनिक गरेका छन् । 

अर्थमन्त्रालयमा संसोधित बजेटको विषयमा प्रष्ट पार्न आयोजित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको उत्तर दिंदै गभर्नर अधिकारीले संसोधनसहितको अर्को मौद्रिक नीति नआउने प्रष्ट पारेका हुन् । 

'संसोधित बजेटका प्रावधान, कार्यक्रम र लक्ष्य हेर्दा हामीले प्रस्तुत गरेको मौद्रिक नीति तत्कालै संसोधन गरिहाल्नुपर्ने आवश्यकता देखिएको छैन ।' उनले भने-'आवश्यक नै परेछ भने पहिलो त्रैमासिक रिभ्यूमा हामी हेर्छौ, तर तत्काल बजेटजस्तै संसोधित मौद्रिक नीति आउँदैन ।' 

उनले अघिल्लो सरकारले प्रस्तुत गरेको बजेटमा ६.५ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिइएको र अहिले त्यो संसोधन भई ७ प्रतिशत पुगेको र यो लक्ष्य पूरा गर्नका लागि आवश्यक नीति तथा तयारीको विषयमा अध्ययन भइरहेको जानकारी दिए ।