काठमाण्डौ । सरकारको बजेट घोषणाको केही घण्टा नबित्दै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । 

आर्थिक वषृ २०७६/७७ को बजेट कार्यान्वयनको सुरुवात गर्दै आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढेको सूचना जारी गरेको हो । 

आयल निगमले बुधबार राति १२ बजेबाट कार्यान्वयन हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ ५० मूल्य बढाएको छ । 

बढेको मूल्यपछि काठमाडौंको थानकोट डिपोको १५ किमी परिसर सम्म अब पेट्रोलको भाउ प्रतिलिटर १ सय ११ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९८ रुपैयाँ ५० पैसा पुगेको निगमले जनाएको छ। 

अर्थमन्त्री खतिवडाले बजेटमार्फत सडक निर्माणका लागि पेट्रोलियम पदार्थमा प्रतिलिटर १ रुपैयाँ कर बढाउने घोषणा गरेका थिए । यो घोेषणालाई कार्यान्वयनमा ल्याउँदै आयल निगमले पेट्रोलियम मूल्य बढाएको हो । 

बजेटमार्फत हुने अधिकांश घोषणा नयाँ आर्थिक वर्षको सुरुवात(साउन १ गते)देखि हुने भए पनि पेट्रोलियम पदार्थको मूल्य भने तत्काल नै समायोजन भएको छ । 

पेट्रोलियम पदार्थको मूल्य बढ्नेबित्तिकै यसले ढुवानी खर्च बढाउँछ । जसको सिधा असर सामान्य जनताको भान्सासम्म पर्नेछ । पेट्रोलियम मूल्यवृद्धिले मुद्रास्फिति बढाउन सहयोग गर्नेछ । 

यसरी सरकारले निकै जनपक्षीय भनेर दाबी गरेको बजेटका कारण सर्वसाधारणले उपहारको रुपमा महङ्गीको मार पाएका छन् । 

महङ्गी बढाउनका लागि पेट्रोलियम पदार्थको मूल्य एकातिर बढेको छ भने अर्कोतर्फ सरकारी कर्मचारीको तलब २० प्रतिशतसम्म बढेको छ । यी दुवै कारणले बजार मूल्यमा ठूलो प्रभाव पर्न सक्ने देखिएको छ ।