काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त ग वर्गका अधिकांश वित्तीय संस्था (फाइनान्स)ले आज असोज महिना १ गतेबाट लागू हुने गरी निक्षेप र कर्जाको नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। 

तरलता संकट बढ्दै गएपछि निक्षेप बढाउनुपर्ने दबाबमा रहेका वाणिज्य बैंकहरुले ब्याजदर बढाउने तयारी गरिरहेकै बेला अधिकांश फाइनान्सहरुको निक्षेपको ब्याजदर बढाएका छैनन्। फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुको हिजो बसेको बैठकले ब्याजदर नबढाउने भद्र सहमति गरेका थिए। सोही भद्र सहमतिबमोजि अधिकांश फाइनान्स कम्पनीले बचत र मुद्दति निक्षेपको ब्याजदर नबढाएका हुन्। 

अधिकांश फाइनान्स कम्पनीको मुद्दति निक्षेपको ब्याजदर ९ प्रतिशतमुनि र बचत निक्षेपको ब्याजदर भने ७ प्रतिशत तल रहेको छ। भदौमा पनि अधिकांश फाइनान्सको मुद्दति निक्षेपको ब्याजदर ९ प्रतिशतमुनि नै रहेको थियो। 

आईसीएफसी फाइनान्सले १ वर्षमाथिको व्यक्तिगत मुद्दति निक्षेपमा ८.५ प्रतिशत ब्याजदर र १ वर्षमुनिको हकमा ८ प्रतिशत तोकेको छ। विभिन्न बचत निक्षेपमा भने यो फाइनान्सले ४ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज उपलब्ध गराउने छ। 

सेन्ट्रल फाइनान्सले पनि मुद्दति निक्षेपमा व्यक्तिगतको हकमा ८ प्रतिशतदेखि ८.७५ प्रतिशतसम्म ब्याज दिने भएको छ। संस्थागतको हकमा भने ८ प्रतिशतदेखि ८.५ प्रतिशतसम्म ब्याज उपलब्ध गराइने फाइनान्सले जनाएको छ। विभिन्न बचत निक्षेपमा ५ देखि ६ प्रतिशतसम्म ब्याज उपलब्ध गराउनेछ।

मञ्जुश्री फाइनान्सले व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपमा ८.५ प्रतिशतदेखि ८.७५ प्रतिशतसम्म ब्याज उपलब्ध गराउनेछ। विभिन्न बचत निक्षेपमा ६ प्रतिशतदेखि ६.५ प्रतिशतसम्म ब्याजदर तोकेको छ। 

बेस्ट फाइनान्सले व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपअन्तर्गत समायावधिअनुसार ७.७५ प्रतिशतदेखि ९ प्रतिशतसम्म ब्याज उपलब्ध गराउने भएको छ। ९ प्रतिशत ब्याज भने ३ वर्षमाथिको मुद्दति निक्षेपका लागि मात्र उपलब्ध हुने फाइनान्सले जनाएको छ। अन्य बचत निक्षेपमा भने ५ प्रतिशतदेखि ६.२५ प्रतिशतसम्म ब्याज दिनेछ। 

श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्सले व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपमा ८ प्रतिशतदेखि ९ प्रतिशतसम्म सीमित राखेको छ। ९ प्रतिशत ब्याज २ वर्षमाथिका मुद्दति निक्षेपलाई मात्र उपलब्ध हुनेछ।

बचत निक्षेपमा भने श्री इन्भेस्टमेन्टले ४.५ प्रतिशतदेखि ६.५ प्रतिशत उपलब्ध गराउनेछ।

यसैगरी रिलायन्स फाइनान्सले व्यक्तिगत र कर्पोरेट मुद्दति निक्षेपमा ७.५ प्रतिशतदेखि ८.७५ प्रतिशतसम्म ब्याज दिने भएको छ। विभिन्न बचत निक्षेपमा ४.५ प्रतिशतदेखि ६.५ प्रतिशतसम्म ब्याज उपलब्ध गराइने फाइनान्सले जनाएको छ।

गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपमा ३ महिनादेखि २ वर्षसम्मको अवधिका लागि ७.५ प्रतिशतदेखि ८.७५ प्रतिशतसम्म ब्याज उपलब्ध गराउनेछ। ३ वर्षभन्दा माथिका मुद्दति निक्षेपमा भने फाइनान्सले ९ प्रतिशत ब्याज दिनेछ। विभिन्न बचत निक्षेपमा भने फाइनान्सले ४.७५ प्रतिशतदेखि ५.२५ प्रतिशतसम्म ब्याज दिनेछ।