-अनन्त्य सुन्दर
काठमाण्डौ । नेप्सेमा अनलाइन प्रणालीबाट कारोबार सुरु भएसँगै ब्रोकरहरूले दैनिक कारोबार गर्न वाईकोले बनाएको सिस्टम चलाउँदै आएका छन्। 

नेप्सेले राखेको हार्डवेयर र म्यानपावरको मापदण्ड पूरा गर्न नसकेकाले ब्रोकरहरूले उक्त जिम्मेवारी वाईकोलाई दिएका थिए।

वाईकोसँग लिखित कुनै पनि सम्झौता नगरी आपसी समझदारीमा सिस्टम चलाउँदै आएका ब्रोकरहरू अहिले समस्यामा परेका हुन्। ब्रोकरहरूको डेटाबेस र एप्लिकेसन हेर्दै आएको वाईकोले प्रत्येक पटक सिस्टमको मूल्य वृद्धि गर्दा ब्रोकरहरू अहिले समस्यामा परेको बताउँछन्।

‘सुरुवाती दिनहरूमा नेप्सेले राखेको मापदण्ड हामीले पूरा गर्न नसकेकाले त्यसको जिम्मा वाईकोलाई दियौ ।’ एक ब्रोकर भन्छन्–‘अहिले भने विभिन्न बहानामा वाईकोले बिलमा मूल्य बढाउँदै आएको छ। बिल पनि पहिला वाईकोबाट आउँथ्यो अहिले वाईको सोल्युसनबाट आउँछ। हामीसँग अरू विकल्प पनि नभएकाले चूपचाप सिस्टम चलाउँदै आएको छौं ।’

एयरपोर्टबाट कोटेश्वरसम्म आएको भाडा २० रुपैयाँ छ। गाडीको सहचालकले १०० रुपैयाँ तिरे गाडीमा चढ्न पाइन्छ नत्र आफ्नै गाडी किनेर आउनु भन्न मिल्छ ? ती ब्रोकरले प्रश्न गर्दै भने –‘अहिले सिस्टममा वाईकोको सिन्डिकेट छ। हामीसँग अहिले आफ्नो गाडी पनि छैन। त्यसैले हामीले १०० रुपैयाँ भाडा तिरेर भए पनि यात्रा गर्नु परेको छ।’

ब्रोकरहरुका अनुसार नेप्सेमा अनलाइन प्रणाली सुरु हुँदा उनीहरुले वाईकोलाई महिनाको ५० हजार तिर्थे । तर अहिले बढेर झन्डै साढे ३ लाख पुगेको छ । अर्का ब्रोकर भन्छन्–‘केही बोल्यो भने भोलि उसले सिस्टम बन्द गरेर कारोबार गर्न पाइँदैन भन्ने डर छ। त्यसैले अहिले हामी खाए खा नखाए घिचको अवस्थामा छौं ।' 

ब्रोकरहरुले क्यापटेकमार्फत ब्रोकरको आफ्नै टिएमएस ल्याउन तयारी पनि गरिरहेका छन् । तर अहिले एपीआइ पोलिसि नआएकाले रोकिएको छ। त्यसमा पनि वाईकोसँग संलग्नहरूको लबिङ चलिरहेको बुझिएको छ । 

वाईकोको सञ्चालक दीपेश प्रधानका अनुसार पहिला केही सीमित मानिसहरूले मात्र अनलाइनबाट कारोबार गर्थे। तर अहिले १० लाख भन्दा बढीले अनलाइनबाट नै कारोबार गर्छन्। लगानीकर्ताहरूको सङ्ख्या बढेसँगै हार्डवेयर र सर्भर थप्नु परेकाले सिस्टमको मूल्य बढेको दाबी गरे । प्रधान भन्छन्–‘सुरुवाती दिनहरूमा हाम्रो ८ वटा मात्र सर्भर थियो। अहिले झन्डै १९–२० सर्भर छन्। प्रयोगकर्ताको सङ्ख्या बढेसँगै हार्डवेयर साथै सर्भर नथप्दा सिस्टम स्लो हुन्छ। त्यसैले सिस्टमको मूल्य बढेको हो।’