काठमाण्डौ । प्रणालीमा तरलताको समस्या विकराल बनेसँगै बैंक तथा वित्तीय संस्थाहरुले पुनः ब्याजदर बढाउने तयारी थालेका छन् । 

भोलिदेखि दशैंविदा सुरु हुने भएकोले बैंक तथा वित्तीय संस्थाका सीइओहरुबीच कात्तिक १ गतेदेखि ब्याजदर बढाउने मोटामोटी सहमति भइसकेको छ । 

कात्तिक १ गते प्रकाशित गर्ने गरी केही वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११ प्रतिशतसम्म पुर्याउने भएका छन् भने यो पटक फाइनान्स कम्पनीहरुले भने ह्वात्तै ब्याजदर बढाउने छन् । 

असोज १ गतेदेखि बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाएका थिए । सो क्रममा केही वाणिज्य बैंकले मुद्दति निक्षेपमा १०.५ प्रतिशतसम्म ब्याजदर अफर गरेका थिए । 

विकास बैंकहरुले ब्याजदर बढाएर १० प्रतिशत(राष्ट्रबैंकका निर्देशनपछि ९.५ प्रतिशतमा झारेका)सम्म पुर्याएका थिए । 

असोज १ गतेबाट ब्याजदर आक्रामक रुपमा बढाउन वाणिज्य बैंक अगाडि देखिएका थिए भने विकास बैंकहरुले पनि उनीहरुको पद्चाप पछ्याएका थिए । 

असोज १ गतेदेखि ब्याजदर वृद्धिको दौडमा फाइनान्स कम्पनीहरु चाहिँ अलिक सम्हालिएका थिए । तर, वाणिज्य बैंकमै १० प्रतिशतभन्दा बढी ब्याज पाइने भएपछि फाइनान्स कम्पनीमध्ये धेरैले निकै ठूलो भोल्युममा निक्षेप गुमाउनुपरेको थियो । विथड्रलको निकै ठूलो संकट भोगेका फाइनान्स कम्पनीहरुले कात्तिक १ गतेदेखि भने ह्वात्तै ब्याजदर बढाउने भएका छन् । 

एक फाइनान्स कम्पनीका सीइओका अनुसार असोज १ गतेदेखि ८.५ प्रतिशतभन्दा बढी ब्याजदर व्यक्तिगत मुद्दति निक्षेपमा नदिने भद्र सहमति गरिए पनि त्यसले निक्षेप ठूला बैंकमा सरी कम्पनीहरुलाई तरलता व्यवस्थापनमा असहज अवस्था उत्पन्न भएपछि अब भने ब्याजदर बढाएर ११ प्रतिशत पुर्याइनेछ । ‘हामीबीच कात्तिक १ गतेदेखि लागू हुने गरी व्यक्तिगत मुद्दतिको ब्याजदर ११ प्रतिशत कायम गर्ने सहमति भइसकेको छ ।’ ती सीइओले भने–‘योपटक वाणिज्य बैंक र विकास बैंक पनि आक्रामक बन्ने देखिएको छ ।’ 

नयाँ निक्षेप सिर्जना नहुने, भएकै निक्षेप खोसाखोस हुने र नियामकीय व्यवस्था पालनाको नाममा नक्कली निक्षेप सिर्जनाको काम समेत हुन थालेपछि राष्ट्रबैंकले कतिपय बैंकमाथि स्पष्टीकरण समेत सोधेको छ । यस्ता स्पष्टीकरण र कारबाहीबाट जोगिन समेत निक्षेप तान्नैका लागि वाणिज्य बैंकहरु पनि आक्रामक रुपमा अगाडि बढ्नुपर्ने अवस्था सिर्जना भएको सीइओहरु बताउँछन् । 

स्रोतहरुका अनुसार असोज १ गतेदेखि लागू हुने गरी सार्वजनिक नयाँ ब्याजदरमा केही कम आक्रामक देखिएको एनआइसी एशिया बैंकले व्यक्तिगत मुद्दति निक्षेपकै ब्याजदर ११ प्रतिशतसम्म पुर्याउने तयारी गरेको छ । 

यस्तै, तयारी सनराइज र सानिमाको समेत छ । अन्य बैंकहरु पनि आफ्नो निक्षेप जोगाउनैका लागि ब्याजदर थोरै भए पनि बढाउने मूडमा देखिएका छन् । 

राष्ट्रबैंकको छुट्टै तयारी
दशैंविदाकै कारण नेपाल राष्टबैंकले पनि मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आजै सार्वजनिक गर्ने प्रवल संभावना छ । 

राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत लिएको केही नियामकीय व्यवस्थाका कारण तरलता असहज हुने अवस्था सिर्जना भएको आरोपहरु लाग्ने गरेका छन् ।

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा ती व्यवस्थामाथि पुनरविचार हुने अपेक्षा गरिएको छ । समीक्षामार्फत राष्ट्रबैंकले बैंक ब्याजदर बढाएर ११ प्रतिशतभन्दा माथि पुर्याउने तयारीमा रहेका बैंक तथा वित्तीय संस्थाहरुलाई रोक्ने कुनै न कुनै व्यवस्था गर्ने संभावना पनि उत्तिकै छ ।