काठमाण्डौ। हवाई इन्धन मूल्यवृद्धिसँगै वायुसेवा कम्पनीहरुले हवाई भाडा बढाएका छन्। 

वायु सेवा सञ्चालक संघले सोमबार एक सूचना जारी गर्दै आन्तरिकतर्फ न्यूनतम ९० रुपैयाँदेखि अधिकतम ४४५ रुपैयाँसम्मले भाडा वृद्धि गरेको हो। सबैभन्दा बढी काठमाण्डौ–धनगढीको भाडा ४४५ रुपैयाँले बढेको छ भने सबैभन्दा कम काठमाण्डौ–सिमरा ९० रुपैयाँले बढेको छ। 

यो बढोत्तरीसँगै अब काठमाण्डौदेखि धनगढीको हवाई भाडा १५ हजार ६६५ रुपैयाँ पुगेको छ। काठमाण्डौ–नेपालगन्जको भाडा १२ हजार ८९५, भद्रपुरको ११ हजार ९३५ रुपैयाँ र विराटनगर ९ हजार ३२५ रुपैयाँ पुगेको छ। 

यसैगरी नयाँ भाडादरअनुसार काठमाण्डौ–जनकपुर ४ हजार २५० रुपैयाँ, भरतपुर ४ हजार ४३५ रुपैयाँ, पोखरा ६ हजार ३०५ रुपैयाँ रुपैयाँ, भैरहवा ७ हजार ८८० रुपैयाँ पुगेको छ। 

संघका अनुसार नयाँ भाडादर जेठ ११ गतेदेखि लागू हुनेछ। 

नेपाल आयाल निगमले आइतबार एक सूचना जारी गर्दै हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले वृद्धि गरेको थियो। 

निगमले पेट्रोल, मट्टीतेल र डिजेलको समान प्रतिलिटर १० रुपैयाँ र खाना पकाउने एलपी ग्यासको भने एकैपटक २०० रुपैयाँ मूल्यवृद्धि गरेको थियो।