काठमाण्डौ । अमेरिकी डलरको भाउमा भएको अचाक्ली वृद्धि, योसँगै पेटोलियम पदार्थको मूल्यमा समेत भएको भारि वृद्धिले महंगी बढाएको देखिएको छ । 

नेपाल राष्ट्रबैंकले प्रकाशन गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको विश्लेषणमा यस्तो देखिएको हो । 

उपभोक्ता मुद्रास्फीति २०७५ असोज महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.७ प्रतिशत रहेको छ । २०७४ असोजमा यस्तो मुद्रास्फीति ३.१ प्रतिशत रहेको थियो । खासगरी, खाद्यान्न, तरकारी, माछामासु र पेय पदार्थको मूल्य तथा घरभाडा बढेका कारण समीक्षा अवधिमा समग्र मुद्रास्फीति बढ्न गएको केन्द्रीय बैंकको दाबी छ ।

भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.९ प्रतिशत रहेको थियो । 

असोज महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष उक्त समूहको मुद्रास्फीति ०.५ प्रतिशत रहेको थियो। 

समीक्षा अवधिमा मूलतः खाद्यान्न तथा खाद्यजन्य पदार्थ, मासु तथा माछा, घिउ तथा तेल एवम् सुर्तीजन्य पदार्थलगायतका उप–समूहका वस्तुहरुको मूल्यमा भएको वृद्धिका कारण समग्र खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति बढ्न गएको हो ।

भदौ महिनामा खाद्य तथा पेय पदार्थ समुहको मुद्रास्फीति १.४ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष उक्त मुद्रास्फीति ५.२ प्रतिशत रहेको थियो । भदौ महिनाको तुलनामा गैरखाद्य तथा सेवा समूहको मुद्रास्फिति भने घटेको हो । भदौ महिनामा यस्तो मुद्रास्फिति ५.८ प्रतिशत थियो । यस समूह अन्तर्गतको यातायात, फर्निसिङ तथा घरायसी उपकरण, मनोरञ्जन तथा संस्कृति एवम् घरायसी उपयोगिता तथा सेवालगायतका उप–समूहका वस्तु तथा सेवाहरुको मूल्यमा वृद्धि भएकोले समग्र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति बढ्न गएको हो ।

सबै क्षेत्रमा बढ्यो महंगी
केन्द्रीय बैंकको तथ्यांक अनुसार सबै क्षेत्रमा महंगी बढेको छ । असोज महिनामा उपभोक्ता मुद्रास्फीति पहाडमा ६.१ प्रतिशत, तराईमा ४.३ प्रतिशत, हिमालमा ४.२ प्रतिशत र काठमाडौं उपत्यकामा ४.० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः ३.० प्रतिशत, ३.६ प्रतिशत, ५.१ प्रतिशत र २.३ प्रतिशत रहेको थियो ।

भदौ महिनामा उपभोक्ता मुद्रास्फीति पहाडमा ५.० प्रतिशत, तराईमा ३.७ प्रतिशत, हिमालमा ३.४ प्रतिशत र काठमाडौं उपत्यकामा ३.० प्रतिशत रहेको थियो ।

यसरी  एक महिनाको अन्तरालमा पहाडमा अचाक्ली महंगी बढेको छ । यो क्षेत्रमा असोज महिनामा भदौको तुलनामा १.१ प्रतिशतले महंगी बढेको हो । यसैगरी, काठमाण्डौ उपत्यकामा पनि भदौको तुलनामा असोजमा १ प्रतिशतले महंगी बढेको देखिएको छ । 

भदौसँग तुलना गर्दा असोजमा हिमालमा ०.८ प्रतिशत र तराईमा ०.६ प्रतिशतले महंगी बढेको देखिन्छ ।