काठमाण्डौ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रदेश नं ३ मा प्रादेशिक कार्यलय संचालनमा ल्याएको छ । 

कम्पनीले प्रदेश ३ का लागि काठमाण्डौको बबरमहलमा प्रादेशिक कार्यालय स्थापना गरी औपचारिक रुपमा उद्घाटन गरेको हो । 

बिमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाई, कम्पनी संचालक समितिका अध्यक्ष शुलभ अग्रवाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले संयुक्त रुपमा सो कार्यलयको उद्घाटन गरे । 

कम्पनीले देशको संघिय ढाँचा अनुसार प्रत्येक प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गर्ने थालनी स्वरुप प्रदेश नं. ३ को प्रादेशिक कार्यालय स्थापना गरिएको जनाएको छ । 

सो कार्यालयबाट प्रदेश नं. ३ अन्तर्गतका शाखा तथा उपशाखा कार्यालयहरुको समन्वय एवं ब्यवस्थापनको काम गरिने बताइएको छ । 

उद्घाटन मन्तव्य राख्दै बिमा समितिका अध्यक्ष चापागाईले यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल गरिरहेको उल्लेख गर्दै आगामी दिनमा उल्लेख्य प्रगतिको शुभकामना दिए।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले कम्पनीले छोटो समयमा निकै ठूलो सफलता हासिल गरेको दाबी गरेका थिए । 

कम्पनीले हरेक त्रैमासमा इतिहास रच्दै आएको उल्लेख गर्दै आ.व. २०७५।७६ को जेष्ठ मसान्तसम्म १ अर्ब ९२ करोड प्रथम बीमा शुल्क संकलन गरेको दाबी गरे । 

देशको संघिय ढाँचा अनुसार निकट समयमा कम्पनीले ७ वटै प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरी शाखा तथा उपशाखा कार्यालयहरुको कार्य संचालन प्रणालीलाई प्रभावकारी बनाउने नीति लिएको छ । कम्पनीका देशभर १५६ शाखा तथा उपशाखा कार्यालयहरु संचालनमा छन् ।