काठमाण्डौ । मर्जर प्रक्रिया र बम्पर लाभांश पारितको मुख्य अजेन्डासहित छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १८ औँ वार्षिक साधारणसभा यही मंसिर ३० गते मकवानपुरको हेटौँडास्थित होटेल सामना प्रालिमा आयोजना गर्ने भएको छ ।

संस्थाको सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको गरेको हो । सभामा विशेष प्रस्तावका रुपमा राखिने अन्य इजाजतपत्र प्राप्त ‘घ’ वगृका एक वा एकभन्दा बढी लघुवित्त वित्तीय संस्थाहरुलाई प्राप्ति गर्न उपयुक्त देखिएमा सोसम्बनधी आवश्यक सम्पूर्ण कार्य अगाढि बढाउन सञ्चाालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने अजेन्डा पारित हुनेछ ।

यसैगरी संस्थाले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको कुल ४४.३४ प्रतिशत लाभांश पनि सभाले पारित गर्नेछ । प्रस्तावित लाभांशमा चुक्तापुँजी १ अर्ब १८ करोड रुपैयाँको २७.११ प्रतिशतका दरले हुन आउने ३२ करोड रुपैयाँबराबरको बोनस सेयर र १७.२१ प्रतिशतका दरले हुन आउने २० करोड ३१ लाख ५७ हजार ८९४.७४ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) रहेको छ ।

सभाले संस्थाको वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदनहरुलाई पनि छलफल गरी पारित गर्नेछ ।

यसैबीच साधारणसभा तथा लाभांश प्रयोजनार्थ संस्थाले मंसिर १६ गतेदेखि मंसिर ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । अब मंसिर १५ गते संस्थाको सेयरधनी कायम हुनेहरुले मात्र संस्थाको बम्पर लाभांशको हकदार र साधारणसभामा भाग लिन पाउनेछन् ।