काठमाण्डौ । बलिउडका चर्चित अभिनेता इरफान खानको बुधबार निधन भएको छ।

स्वास्थ्य समस्या बढेपछि मंगलबार मुम्बईस्थित कोकिलाबेन अस्पतालको आईसीयूमा भर्ना गरिएको ५४ वर्षीय इरफानको उपचारका क्रममा निधन भएको हो। उनका प्रवक्ताले भने, ‘सन् २०१८ मा इरफानले आफ्नो नोटमा ‘मलाई यकिन भइसकेको छ कि म हारिसकेँ’ लेखका थिए। उनी क्यान्सरका बिरामी थिए। आज यो दुःखद घटना भयो।’

सन् २०१८ मार्चमा इरफानलाई न्युरोउन्डोक्राइन ट्युमर (क्यान्सर) देखिएको थियो। यो असामान्य क्यान्सर हो। 

क्यान्सर पत्ता लाग्दा इरफान ‘अंगेजी मिडियम’ चलचित्रको सुटिङमा थिए। अस्वस्थ महसुस गरेपछि अस्पतालमा परीक्षण गर्दा उनलाई क्यान्सर देखिएको थियो। 

क्यान्सर भएको पत्ता लाग्नेबित्तिक इरफान उपचारका लागि लन्डन पुगेका थिए। लन्डनमा करिब १ वर्ष बसेर उपचार गरी उनी गत वर्ष मार्चमा मुम्बई फर्केका थिए। त्यसपछि कोकिलाबेन अस्पतालका चिकित्सकको उनी नियमित चेकजाँचका लागि जाने गरेका थिए।

हालै इरफानकी आमा सइदा बेगमको पनि जयपुरस्थित घरमा निधन भएको थियो। लकडाउनका कारण इरफान आमो अन्तिम संस्कारम सहभागी हुन पाएनन्। – एजेन्सी