काठमाण्डौ । नई प्रकाशनले साहित्य क्षेत्रकै प्रतिष्ठित ‘नई ईश्वरवल्लभ अवार्ड’ यो वर्ष कवि तथा साहित्यकार बसन्तकुमार चौधरीलाई प्रदान गर्ने निर्णय गरेको छ।
नई प्रकाशन सञ्चालक समितिका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले यो वर्षका लागि ‘नई ईश्वरवल्लभ अवार्ड’ चर्चित कवि चौधरीप्रति समर्पित गर्ने निर्णय गरेको हो।
विश्व काव्ययात्रामार्फत नेपाली भाषा र साहित्यको विश्वमाझ प्रर्वद्धनका लागि महत्वपूर्ण योगदान दिएका कारण चौधरीलाई प्रतिष्ठित अवार्ड प्रदान गर्ने निर्णय भएको नई प्रकाशनले जनाएको छ।
चौधरीले पाउने पुरस्कार रु. १ लाख राशिको हो। यसअघि नई प्रकाशनले वैशाख ३० गते काठमाण्डौमा आयोजना गर्न लागेको नई प्रकाशनको रजतजयन्ती तथा शताब्दी पुरुष सत्यमोहन जोशीको १०२ औं जन्मोत्सवका अवसरमा साहित्यकार चौधरीलाई पुरस्कृत गर्ने योजना बनाएको थियो। तर, कोभिड संक्रमणका कारण पुरस्कार वितरण गर्ने कार्यक्रम केही पछि धकेलिएको नई प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले जानकारी दिए।
नेपालका कवि, साहित्यिक पत्रकार र नेपाली भाषा तथा साहित्यमा विशिष्ट योगदान गर्नेहरुलाई यस्तो अवार्ड प्रदान हुँदै आएको छ। नई प्रकाशन २०५२ सालमा स्थापना भएको थियो। चर्चित कवि तथा साहित्यिक पत्रकार ईश्वर बल्लभको निधन भएपछिका वर्षदेखि उनको नाममा अवार्ड वितरण गर्न थालिएको थियो।
प्रत्येक वर्ष प्रदान गरिने यो विधातर्फको अवार्ड यसअघि जयदेव भट्टराई, प्रकट पगेनी शिव, विश्वविमोहन श्रेष्ठ, प्रदीप नेपाल, विजय चालिसे, सञ्जय राई, कञ्चन पुडासैनीलगायतले पाएका थिए।
चौधरीले केही वर्षअघिदेखि सुरु गरेको विश्व काव्ययात्रा विश्वभर चर्चित भएको थियो। सन् २०१२ को अगस्टदेखि अमेरिकाको न्यूयोर्कबाट सुरु भएको उनको विश्व काव्ययात्रा ११ वटा देशको २० वटा सहरसम्म पुगेको थियो। गत वर्ष कोरोनाको संक्रमण बढेपछि उनको काव्ययात्रा स्थगित गरिएको छ।
नई प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले सरकार वा सरकारी निकायको कुनै सहयोगबिना एक्लो प्रयासमा नेपाली कविता र साहित्यलाई विश्वमाझ चिनाउने उद्देश्यले विश्व कविता यात्रा गर्ने चौधरी देशकै एक्लो र पहिलो नेपाली कवि रहेको बताए। ‘उहाँको एक्लो प्रयासले सञ्चालन गर्नुभएको विश्व काव्ययात्राका कारण नेपाली साहित्यको इज्जत विश्वमै माथि पुर्याउने काम भएको र नेपाली साहित्यको गरिमा समेत श्रीवृद्धि भएकोमा उहाँलाई सम्मान गर्ने निर्णय गरेका हौंँ’, उनले भने।
बसन्त चौधरी गीतकार, कवि, स्तम्भकार वा प्रबन्धकारको रुपमा नेपाली साहित्यको क्षेत्रमा परिचित नाम हो। उनका नेपाली भाषाका आधा दर्जन बढी कवितासंग्रह, अन्य विभिन्न भाषामा समेत कविता तथा गीतिसंग्रह प्रकाशित भइसकेका छन्।
चौधरीका हालसम्म आधा दर्जन बढी नेपाली भाषाका र दुईवटा हिन्दी भाषाका गीति एल्बम समेत प्रकाशन भइसकेका छन्। उनले दर्जनौँ कृतिहरु प्रकाशनमा सहजीकरण र सहयोग गरेका छन्। ‘तिमीबिनाको म’ नामको नेपाली भाषाको कवितासंग्रह र ‘अनेक पल और मैं’ नामको हिन्दी कवितासंग्रह उनका प्रकाशोन्मुख कृति हुन्।
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago
16 hours ago
16 hours ago