काठमाण्डौ । विपक्षी गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेस लगायतका दलहरुले प्रधानमन्त्रीमा दाबी गर्ने भएको छ । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरु १४९ सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी पेश गर्ने निर्णयमा पुगेका हुन् । यो निर्णइमा एमालेका २७ सांसदले समर्थन गरेका छन् ।  

बहुमत सांसदहरुको हस्ताक्षरसहित देउवासहितका नेताहरु अहिले शितल निवासतर्फ लागेका छन् । देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका नेता माधव कुमार नेपाल र जसपाका नेता उपेन्द्र यादव र बाबुराम भट्टराई समेत शितल निवासतर्फ लागेका छन् । 

शितल निवासतर्फ जानुअघि कांग्रेसको संसदीय दलको कार्यालयमा माओवादी केन्द्र, जसपा र एमालेको माधवकुमार नेपाल पक्षका शीर्ष नेताबीच छलफल भएको थियो । छलफलका क्रममा शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्न चाहेको बताएका थिए । बैठकमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा समेत नयाँ प्रधानमन्त्रीको लागि दाबी पेश भएको छ । यसअघि एमालेका वरिष्ठ नेता माधव नेपालको नाम भावी प्रधानमन्त्रीको रुपमा चर्चा गरिएको थियो । 

देउवा नेतृत्वको गठबन्धनले प्रस्तुत गरेको आधार सही ठहरिए केपी शर्मा ओलीको सत्ता ढल्नेछ र विपक्षी गठबन्धनबाट देउवा वा माधवकुमार नेपाल भावी प्रधानमन्त्री बन्नेछन् ।