काठमाण्डौ। नर्भिक इन्टरनेसनल हस्पिटलअन्तर्गतको नर्भिक आईभीएफ सेन्टरले नारी दिवसका अवसर पारेर यही फागुन २१ गते शनिबार बृहत निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ। 

वरिष्ठ स्त्रीरोग तथा बाँझोपन विशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्मासहितको टिमले आगामी शनिबार बिहान १० देखि ४ बजेसम्म बिरामीको बाँझोपन तथा स्त्री रोगसम्बन्धमा निःशुल्क स्वास्थ्य परीक्षण तथा स्वास्थ्य परामर्श एवं उपचार गर्ने अस्पतालले जनाएको छ।

नेपाली समाजमा बाँझोपनको समस्या बिकराल बन्दै गइरहेका बेला गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचलाई अभिवृद्धि गर्ने उद्देश्यले एकदिने निःशुल्क स्वास्थ्य शिविर गर्न लागिएको नर्भिक हस्पिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजयकुमार मिश्रले जानकारी दिए। 

शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण र परामर्शका साथै टीभीएसमा २० प्रतिशत छुट तथा ल्याब परीक्षणमा १० प्रतिशत छुटको अफरसमेत ल्याइएको सीईओ मिश्रले बताए। 

शिविरमा सहभागी भएका बिरामीको परीक्षणमा शल्यक्रिया गर्नुपर्ने भए स्त्रीरोगसम्बन्धी ल्याप्रोस्कोपिक सर्जरीमा बिरामीलाई अप्रेसन शुल्कको २० प्रतिशतसम्म छुट दिइने अस्पतालले जनाएको छ। 

नर्भिक अस्पतालको आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विशेष पर्व, उत्सव तथा दिनहरुमा स्वास्थ्य जाँचलगायतका सेवाहरुमा छुटको अफर यसअघिदेखि नै सार्वजनिक गर्दै आएको छ। 

यस्तै नर्भिकले विगत लामो समयदेखि प्रत्येक शनिबार कुनै विशेषज्ञ चिकिसत्क नेतृत्वको टिमलाई परिचालन गरी निःशुल्क ओपीडी अभियानसमेत सञ्चालन गर्दै आएको छ। निःशुल्क ओपीडी पछिल्लो समय सर्वसाधारणमा निकै लोकप्रिय रहेको छ।