काठमाण्डौ । रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निकै बढेको छ। 

यस्तो अवस्थामा अमेरिकी राष्ट्रपति जो बाइडेनले देशको पेट्रोलियम भण्डारबाट ठूलो मात्रामा कच्चा तेल निकाल्ने बताएका छन्। यसले कच्चा तेलको बढ्दो मूल्यलाई नियन्त्रण गर्ने अपेक्षा गरिएको छ।

ब्लुमबर्गको समाचारअनुसार बाइडेनको सरकारले अमेरिकाको रणनीतिक पेट्रोलियम रिजर्भबाट प्रतिदिन १० लाख ब्यारेल कच्चा तेल निकाल्ने तयारी गरेको छ। ह्वाइट हाउसले बिहीबार यसबारे अन्तिम निर्णय लिन सक्छ। 

युक्रेनमा रुसले आक्रमण गरेपछि अमेरिका र उसका सहयोगी राष्ट्रहरुले रुसमाथि धेरै आर्थिक प्रतिबन्ध लगाएका छन्। यसको असरस्वरुप विश्वभर कच्चा तेल र प्राकृतिक ग्यासको मूल्य बढ्न थालेको छ। किनकि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निर्धारणमा रुसको ठूलो भूमिका रहेको छ।

बाइडेन सरकारले पेट्रोलको बढ्दो मूल्यलाई नियन्त्रण गर्न बिहीबार आफ्नो पूर्ण योजना जारी गर्न सक्छ। रणनीतिक भण्डारबाट दैनिक १० लाख ब्यारेल कच्चा तेल निकासी गर्ने यो योजना कहिलेसम्म चल्ने भन्ने अवस्था स्पष्ट छैन। तर, यो अझै केही महिनासम्म जारी रहने समाचार स्रोतहरु बताउँछन्। 

कोरोना महामारी र त्यसपछि बढेको पेट्रोल र डिजेलको मूल्यले अमेरिकामा मुद्रास्फीति ४० वर्षकै उच्च विन्दुमा पुगेको छ। राष्ट्रपति बाइडेनसामु यो ठूलो चुनौती हो। 

अन्तर्राष्ट्रिय बजारमा बुधबार कच्चा तेलको मूल्य प्रतिब्यारेल करिब १०५ डलर थियो। जब कि एक वर्षअघि प्रतिब्यारेल करिब ६० डलर थियो। – एजेन्सी