काठमाण्डौ । विभिन्न घरायसी प्रयोजनका सामान तथा खाद्यान्नको उत्पादनमा सफल बनेका बाबा रामदेवले आफ्नो नजर पूजापाठका लागि प्रयोग हुने सामानको उत्पादनमा लगाएका रिपोर्ट सार्वजनिक भएको छ । यही क्रममा बाबा रामदेवको पतञ्जली आयुर्वेदले बजारमा ‘पतञ्जली आस्था’को नामबाट नयाँ ब्राण्ड ल्याउने तयारी थालेको छ । 

यो ब्राण्डको नामबाट आगामी दीपावलीअघि १ सय भन्दा धेरै प्रोडक्टहरु बजारमा ल्याउने तयारी भइरहेको हो । पूजापाठमा प्रयोग हुने प्रोडक्टको माध्यमबाट बाबा रामदेवले ५ करोडभन्दा बढी मानिसलाई रोजगारी दिने योजना समेत बनाएका छन् । 

पतञ्जलीका प्रवक्ता एसके तिजारवालाले ‘पतञ्जली आस्था’ ब्राण्डको नामबाट पूजापाठमा प्रयोग हुने प्रोडक्टहरु बजारमा ल्याइनेछ । यसमा पूजामा प्रयोग हुने सबै खालका प्रोडक्टहरु रहनेछन् । अगरबत्ती, धूप बत्ती, चन्दन, तिलक, हवन सामाग्री, दियो, थाली जस्ता सामानहरु सो ब्राण्डबाट बजारमा आउनेछन् । पतञ्जलीको अगरबत्ती र हवन सामाग्री चाहि यसअघि नै बजारमा आइसकेको छ । बाँकी सबै प्रोडक्टहरु अबको दुई महिनाभित्रमा बजारमा आइसक्ने बताइएको छ । यी प्रोडक्टहरु अनलाइनबाट समेत बिक्री गर्ने योजना बनाइएको छ । 

तिजारवालाका अनुसार ‘पतञ्जली आस्था’को सबै प्रोडक्ट पूर्ण रुपमा प्राकृतिक र वातावरणमैत्री हुनेछन् । यी कुनै प्रोडक्टमा कुनै पनि प्रकारको हानीकारक केमिकल प्रयोग गरिने छैन । यस्ता सामानमा केमिकलको प्रयोग हुँदा वातावरणलाई मात्र होइन, उपभोक्तालाई समेत असर परिरहेको हुन्छ । 

उनका अनुसार पूजापाठमा प्रयोग हुने सामाग्री हरेक घरका मानिसले प्रयोग गरिरहेका हुन्छन् । तर, धेरै उत्पादकहरु यस्ता छन्, जो पूजाको सामाग्रीमा समेत मिसावट गरिरहेका हुन्छन् । यस्तो अवस्थामा पतञ्जलीले भने कुनै पनि मिसावट गर्नेछैन र यसले उपभोक्ताको मन छोटो अवधिमै जित्ने तिजारवालाको दाबी छ । उनले एक अध्ययनको हवाला दिंदै भनेका छन् कि अगरबत्ती र धुपवत्तीमा तीव्र मिसावट हुँदा यसको माध्यमबाट प्रदूषण फैलिरहेको छ । 

तिहारअघि बजारमा
पतञ्जलीले तिहारअघि नै पूजापाठका सबै प्रोडक्टहरु बजारका स्टोरहरुमा जम्मा गरिसक्ने योजना बनाएको छ । यसका लागि आगामी केही दिनभित्रै यसको बजार रणनीति बनाइनेछ । तिहारसम्म यी प्रोडक्टहरु भारतभरि र नेपालमा समेत वितरण गर्ने योजना बनाइएको छ । पतञ्जली स्टोर बाहेक भारत र नेपालका साना–साना स्टोरहरुमा समेत यी सामान पाउने गरी तयारी थालिएको बताइएको छ ।

पूजा सामाग्रीको बढ्दो छ ग्रोथ
पूजा सामाग्री समूहको ग्रोथ पछिल्लो समय निकै तीव्र गतिमा बढिरहेको छ । इ–कमर्स कम्पनीहरुले समेत आफ्ना प्लेटफर्महरुमा यस्ता सामानहरु बिक्री गरिरहेका हुन्छन् । खासगरी चाडपर्वको समयमा यस्ता उत्पादनको ज्यादा बिक्री हुने गरेको देखिन्छ । बजारमा स्थापित कतिपय कम्पनीहरु समेत पूजा सामाग्रीमा केन्द्रीत छन् । 

कारोबार बढाउन मद्धत पुग्ने
पतञ्जलीले आर्थिक वर्ष २०१६–१७ मा आफ्नो कुल टर्नओभर १० हजार करोड भारुको लक्ष्य चुम्ने योजना बनाएको छ । यो योजनामा पूजा प्रोडक्टले धेरै ठूलो सहयोग गर्ने बताइएको छ । पतञ्जलीका अनुसार यो समूहले विगत ४ वर्षको अवधिमा आफ्नो कारोबार तथा आर्थिक अवस्थामा ११ सय प्रतिशतको प्रगति हासिल गरिसकेको छ । अघिल्लो आर्थिक वर्षमा यो कम्पनीले १५० प्रतिशत ग्रोथ हासिल गर्दै एकवर्षको अवधिमा ५ हजार करोड भारु बराबरको कारोबार गरेको थियो । 

यस्ता छन् आगामी योजना
रामदेवले आगामी दिनमा आयुर्वेदमाथि अनुसन्धान गर्न भारत र नेपालमा समेत विभिन्न रिसर्च सेन्टर खोल्ने योजना बनाएका छन् । उनले भनेका छन् कि उनी ५ सय करोड भारु आयुर्वेद रिसर्चमा खर्च गर्नेछन् र यो रकम आउने दिनमा १ हजार करोड भारुसम्म पुग्नसक्छ । पतञ्जलीले हरिद्वार, नागपुर, यूपी, एमपी, आन्ध्र प्रदेश र आसाममा फूड पार्क बनाउनेछ । रामदेवले आगामी दिनमा डेरी प्रोडक्ट समेत ल्याउन खोजेका छन् । उनले भनेका छन् कि आगामी प्रोडक्टहरु समेत पूर्ण रुपमा मिसावट फ्रि हुनेछ । 

भारतीय मिडियाहरुको सहयोगमा तयार रिपोर्ट