काठमाण्डौ । काठमाण्डौको चाबहिलस्थित ॐ हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि र गोकर्णेश्वर नगरपालिकाको नारायणटारस्थित बाबा गोकर्णेश्वर यातायात अटो प्रालिबीच सहुलियत दरमा उपचार सेवा प्रदान गर्ने विषयमा सम्झौता भएको छ।

ॐ हस्पिटलमा मंगलवार आयोजित एक संक्षिप्त कार्यक्रममा अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. आनन्दप्रसाद श्रेष्ठले गोकर्णेश्वर यातायातका कोषाध्यक्ष पदमराज सुवेदीलाई सम्झौतापत्र हस्तान्तरण गरेका छन्। सम्झौतापत्रमा ॐ अस्पतालका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महत र बाबा गोकर्णेश्वर यातायातका कोषाध्यक्ष पदमराज सुवेदीले हस्ताक्षर गरेका छन्।

सम्झौतामा बाबा गोकर्णेश्वर यातायातका यात्रु, मजदुर, कर्मचारी तथा परिवारजनले ॐ हस्पिटलमा उपलब्ध उपचार सेवाहरुमा विशेष छुट पाउने उल्लेख छ।

नेपालमा निजी क्षेत्रवाट सञ्चालित अग्रणी अस्पतालका रुपमा परिचित ॐ हस्पिटलले वि.सं. २०४६ सालदेखि निरन्तर रुपमा विशिष्टीकृत स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको छ। ३६ वटा विभिन्न विभागमार्फत १०० जना विशेषज्ञ चिकित्सक, २५० जनाभन्दा बढी नर्सिङ स्टाफ तथा प्राविधिक तथा प्रशासनिक जनशक्ति २२५ जनाभन्दा बढी कर्मचारीसहितको विश्वस्तरीय उपचार सेवा प्रदान गर्दै आएको छ।