काठमाण्डौ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयर धितोपत्र दोस्रो बजारमा भोलि मंगलबारबाट आउने भएको छ।

यो कम्पनीको आईपीओ सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको आईपीओमा नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट दोस्रो बजारमा कारोबारमा आउने गर्छ। 

नेप्सेमा बाराही हाइड्रोपावरको कुल २५ लाख कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको १८ लाख कित्ता, सर्वसाधारणको ५ लाख ५४ हजार कित्ता र आयोजना प्रभावित स्थानीयको १ लाख ४६ हजार कित्ता रहेका छन्।

नेप्सेले यो कम्पनीलाई ‘बीएचपीएल’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले प्रतिकित्ता न्यूनतम ६४.९७ रुपैयाँदेखि अधिकतममा १९४.९१ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ। यसको अर्थ यदि नेप्सेले तोकेको रेन्जभित्र स्पेसल प्रि–ओपन सेसनमा यो कम्पनीको सेयर किनबेच भएमा नियमित समयका लागि कारोबारमा आउनेछ। 

बाराही हाइड्रोपावरले गत मंसिर २१ गतेदेखि मंसिर २६ गतेसम्म आईपीओ बिक्री गरेको थियो। आईपीओ बाँडफाँड पुस ३ गते धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको काठमाण्डौको लाजिम्पाटस्थित कार्यालयमा भएको थियो।