काठमाण्डौ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले यही मंसिर २१ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ। 

कम्पनीले यस अघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि २ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको थियो। सो मध्ये १ लाख ४६ हजार कित्ता शेयर बाँडफाँट गरेको कम्पनीले बताएको छ।

कम्पनीले १०० अंकित दरका कुल ५ लाख ५४ हजार कित्ता आईपीओ बिक्री खुला गर्नेछ। जसमा यसअघि आयोजना प्रभावित स्थानीयका लागि जारी गरिएको आईपीओमा बिक्री हुन बाँकी रहेको १ लाख ४ हजार कित्ता सेयर पनि समावेश गरिएको छ। 

कुल कित्तामध्ये मध्ये ५ प्रतिशतले हुन आउने २७ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ११ हजार ८० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ। बाँकी ५ लाख १५ हजार २२० कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्। 

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।

यो आईपीओको निष्कासन बन्द छिटोमा मंसिर २६ गते बैंकिङ समयपछि हुनेछ। सो अवधिमा मागबमोजिम आवेदन नपरेको खण्डमा आउँदो पुस ६ गतेसम्म आईपीओ बिक्री खुला रहनेछ। 

बाराही हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।