काठमाण्डौ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आईपीओमा आवेदन दिने आज मंसिर २६ गते अन्तिम दिन रहेको छ। 

कम्पनी गत मंसिर २१ गतेदेखि सर्वसाधारणका लागि १०० अंकित दरका कुल ५ लाख ५४ हजार कित्ता आईपीओ बिक्री खुला गरेको छ। जसमा यसअघि आयोजना प्रभावित स्थानीयका लागि जारी गरिएको आईपीओमा बिक्री हुन बाँकी रहेको १ लाख ४ हजार कित्ता सेयर पनि समावेश गरिएको छ।

कुल कित्तामध्ये मध्ये ५ प्रतिशतले हुन आउने २७ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ११ हजार ८० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ। बाँकी ५ लाख १५ हजार २२० कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्। 

यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटलले जनाएको छ। 

सीडीएससीका अनुसार हिजो साँझसम्म यो आईपीओमा ९ लाख ५६ हजार ६४१ आवेदकबाट कुल १ करोड १० लाख १६ हजार २७० कित्ताका लागि आवेदन परेको छ। जुन मागभन्दा २१.३८ गुणाले बढी हो। 

मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुने निश्चित भएको छ। जसअनुसार गोलप्रथाबाट भाग्यमानी ५१ हजार ५२२ जनाले १० कित्ताका दरले सेयर पाउनेछन्। 

यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।