काठमाण्डौ । काठमाण्डौ महानगरपालिकामा स्वतन्त्रबाट मेयर पदका उम्मेद्वार बालेन शाहले निकटतम प्रतिद्वन्द्वीसँगको मतअन्तरलाई फराकिलो बनाउँदै लगेका छन् । 

ताजा परिणामअनुसार उनले २१३ मत प्राप्त गरी अग्रता लिएका छन् ।

उनलाई नेकपा एमालेका मेयर पदका उम्मेद्वार केशव स्थापितले १५९ मतसहित पछ्याइरहेका छन् । 

कांग्रेसकी सिर्जना सिंहले १४८ मत ल्याएकी छिन् । 

काठमाण्डौ महानगरपालिकाको मतगणना वडानम्बर १ र ३२ बाट सुरु भएको थियो । यी दुवै वडा एमालेको गढ मानिन्छन् । तर, एमालेको गढ मानिने वडामै स्थापित पछि परेका छन् भने बालेनको पक्षमा अनपेक्षित मत झरेको छ । 

यसैबीच, काठमाण्डौमा मेयर र उपमेयरका उम्मेद्वार धेरै भएका कारण मतगणनामा भइरहेको ढिलाईमा सुधार गर्न निर्वाचन आयोगले आवश्यक तयारी गरिरहेको छ । मतगणनास्थल तथा गणकहरु व्यापक संख्यामा थपेर मतगणनालाई तीव्र पारिने आयोगका एक अधिकारीले जानकारी दिएका छन् ।