काठमाण्डौ । वाणिज्य बैंकहरुमध्ये लगानीकर्ताको रोजाईमा पर्दै आएका टप तीन बैंक नवील, एनआइसी एशिया र ग्लोबल आइएमई बैंकबीच चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा समेत कडा प्रतिस्पर्धा देखिएको छ । 

यी तीन बैंकमध्ये लामो समयदेखि उद्योगमा नवील बैंकले सबैलाई उछिन्दै आएकोमा पछिल्लो समय एनआइसी एशियाको प्रगति लोभलाग्दो देखिएको छ । 

यस्तै, जनता बैंकलाई मर्जर गरेपछि ठूलो बनेको ग्लोबल आइएमईले पनि ठूलो हुनुको हैसियत बनाउने गरी आफूलाई प्रतिस्पर्धी बनाउँदै लगेको देखिन्छ । 

यी तीन बैंकमध्ये तेश्रो त्रैमाससम्ममा कसले कस्तो प्रगति गरे भन्ने विषयलाई यहाँ मुख्य सूचकहरुका आधारमा केलाउने प्रयास गरिएको छ । 

नाफा
खूद नाफा आर्जनमा ग्लोबल आइएमई बैंकले सबैलाई टपेको छ । तर, चुक्तापूँजीका आधारमा हेर्दा एनआइसी एशिया बैंकको नाफा लोभलाग्दो देखिन्छ । 

ग्लोबल आइएमई बैंकको खूद्य नाफा ३ अर्ब ७२ करोड हुँदा एनआइसी एशियाको ३ अर्ब ६० करोड रुपैयाँ रहेको छ । यी बिग थ्रीमा नाफाको हिसाबले नवील बैंक ३ अर्ब ३५ करोडसहित तेश्रो नम्बरमा रहेको छ । 

संचालन मुनाफामा पनि ग्लोबल आइएमई बैंक ५ अर्ब १७ करोडसहित अगाडि छ । एनआइसी एशियाको संचालन मुनाफा ५ अर्ब ११ करोड हुँदा नवील बैंकको ४ अर्ब ७८ करोड रहेको छ । 

ब्याज आम्दानी
बैंकहरुको कमाईमध्येको महत्वपूर्ण खूद ब्याज आम्दानीमा एनआइसी एशियाले सबैलाई टपेको छ । यो बैंकको खूद ब्याज आम्दानी ८ अर्ब २५ करोड रुपैयाँ रहेको छ । त्यसपछि ग्लोबल आइएमई बैंकको ७ अर्ब ४३ करोड र नवीलको ६ अर्ब ५९ करोड रहेको छ । 

निक्षेप र कर्जा
निक्षेपको आकारमा समेत एनआइसी एशिया बैंकले अन्य दुईलाई उछिनेको छ । तेश्रो त्रैमाससम्म एनआइसी एशियाले २ खर्ब ९६ अर्ब बढी निक्षेप परिचालन गरेको छ । यस्तै, ग्लोबल आइएमई बैंकले २ खर्ब ६९ अर्ब तथा एनआइसी एशियाले २ खर्ब ३४ अर्ब बढी निक्षेप संकलन गरेको छ । 

कर्जा विस्तारतर्फ ग्लोबल आइएमई बैंक अगाडि देखिएको छ । यो बैंकले २ खर्ब ६० अर्ब बढी कर्जा विस्तार गरेको छ । एनआइसी एशियाले २ खर्ब ५७ अर्ब र नवील बैंकले २ खर्ब २१ अर्ब बढी कर्जा विस्तार गरेको छ । 

अन्य सूचक
सेयर लगानीकर्ताहरुले कम्पनीको प्रतिसेयर आम्दानीमा बढी ध्यान दिने गर्छन् । यसलाई मात्रै हेर्ने हो भने एनआइसी एशिया अरु दुई बैंकभन्दा धेरै नै सुविधाजनक अवस्थामा देखिएको छ । तेश्रो त्रैमाससम्मको वार्षिकीकृत प्रतिसेयर आम्दानी एनआइसी एशियाको रु. ४१.९४ रहेको छ । जबकि नवीलको रु.२४.३९ र ग्लोबल आइएमईको रु. २०.८८ मात्र रहेको छ । 

खराब कर्जाको अनुपात घटाउने मामलामा एनआइसी एशियाको प्रगति लोभलाग्दो देखिएको छ । कोभिडका कारण अर्थतन्त्रमा प्रभाव पर्दा त्यसले बैंकहरुको खराब कर्जाको अनुपात बढाउने अनुमान गरिएको थियो । तर, एनआइसी एशियाले आक्रामक ढंगले कर्जा असूलीमा ध्यान दिएका कारण खराब कर्जाको अनुपात घटाएर लोभलाग्दो स्तर अर्थात ०.५१ प्रतिशत कायम गर्ने सफलता पाएको छ।

नवील बैंकको खराब कर्जा अनुपात १.१४ प्रतिशत छ भने ग्लोबल आइएमई बैंकको यस्तो कर्जाको अनुपात १.४५ प्रतिशत रहेको छ । 

रिजर्बको आकारमा नवील बैंक अन्य दुईभन्दा धेरै अगाडि छ । नवील बैंकको रिजर्बको आकार १४.५३ अर्ब रहेको छ भने एनआइसी एशियाको ९.७४ अर्ब र ग्लोबल आइएमई बैंकको ३.५५ अर्ब रहेको छ। 

बैंकहरुले वित्तीय विवरण प्रकाशन गरेको मितिका आधारमा उनीहरुको पीई रेसियो समेत यहाँ उल्लेख गरिएको छ । जसअनुसार नवीलको पीई रेसियो ३९.८२ गुणा रहेको छ । पीई रेसियो कम भएको राम्रो मानिन्छ । यो हिसाबले हेर्ने हो भने एनआइसी एशियाको यस्तो रेसियो १८.०५ गुणा तथा ग्लोबल आइएमईको १४.३५ गुणा कायम भएको छ । 

तेश्रो त्रैमाससम्ममा नवील बैंकको चुक्तापूँजी १८ अर्ब ४९ करोड रहेको छ भने एनआइसी एशियाको ११ अर्ब ५६ करोड तथा ग्लोबल आइएमई बैंकको २३ अर्ब ७९ करोड रुपैयाँ रहेको छ । 

नाफा लगायतका अन्य वित्तीय सूचकतर्फको प्रगति हेर्दा एनआइसी एशियाले आफूभन्दा धेरै नै बढी चुक्तापूँजी भएका दुई बैंक ग्लोबल आइएमई र नवीललाई टक्कर मात्र दिएको छैन, कतिपय सूचकमा उनीहरुभन्दा अगाडि रहेको देखिन्छ । यसलाई आधार मान्ने हो भने वाणिज्य बैंकहरुमध्ये तेश्रो त्रैमासको रिपोर्टका आधारमा लगानीका लागि सबैभन्दा आकर्षक कम्पनी एनआइसी एशिया बन्ने देखिएको छ । नवीलसँगै दोश्रो बजारमा वाणिज्य बैंक समूहको तर्फबाट एनआइसी एशिया बैंकको सेयर ब्लुचिप बन्नसक्ने स्पष्ट संकेतहरु देखिन थालेका रिपोर्टहरुमा देखिएको प्रगतिलाई हेरेर समेत मान्न सकिन्छ । 

 

Banks Net Profit Operating Profit Net Interest Income Deposit Loans EPS NPL Reserve  PE
NABIL 3.35 Arba 4.78 Arba 6.59 Arba 2.34 Kharba 2.21 Kharba Rs. 24.39 1.14% 14.53 Arba 39.82 Times
NICA 3.60 Arba 5.11 Arba 8.25 Arba 2.96 Kharba 2.57 Kharba Rs. 41.94 0.51% 9.74 Arba 18.05 Times
GBIME 3.72 Arba  5.17 Arba 7.43 Arba 2.69 Kharba 2.60 Kharba Rs. 20.88 1.45% 3.55 Arba 14.35 Times