काठमाण्डौ । कोरोना कहरबीच व्यापार विस्तारमा आक्रामक देखिएको गरिमा विकास बैंकको नाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३६.६३ प्रतिशतले बढेको छ। 

आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले ६७ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकको खुद नाफा ४९ करोड ६४ लाख रुपैयाँ रहेको थियो। 

यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ४९ करोड २ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा गत वर्षको तुलनामा ३६.९७ प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिसम्म ७० करोड ७४ लाख रुपैयाँ सञ्चालन मुनाफा रहेकोमा समीक्षा अवधिमा बढेर ९६ करोड ८९ लाख रुपैयाँ भएको छ। 

बैंकको खुद ब्याज आम्दानी ९.६४ प्रतिशतले बढेर १ अर्ब ३५ करोड रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी १ अर्ब २३ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म बैंकले ५९ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरी ५० अर्ब २९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले ४२ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन ३४ अर्ब ८६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। यो हिसाबले बैंक निक्षेप संकलन र कर्जा प्रवाहमा आक्रामक देखिएको छ। 

बैंकको रिजर्भको आकार ७०.७५ प्रतिशतले बढेर १ अर्ब ४३ करोड रुपैयाँको भएको छ। गत वर्ष रिजर्भमा ८३ करोड ७९ लाख रुपैयाँ रहेको थियो।

निष्क्रिय कर्जा ०.५८ प्रतिशतमा सीमित रहेको बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २४.६० रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) १४.१४ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १३८.९२ रुपैयाँ रहेको छ।