काठमाण्डौ । नेपाल बिजनेस समिट २०२३ को डेभलपमेन्ट बैंकिङ साझेदारका रुपमा कामना विकास बैंक रहने भएको छ। 

संघीय सरकारको उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजनामा यही वैशाख २४ गते आयोजना हुने बिजनेस समिटमा डेभलपमेन्ट बैंकिङ साझेदारका रुपमा कामना सेवा विकास बैंक रहने गरी सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो। 

काठमाण्डौमा आज आयोजित एक समारोहका बीच बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत विनय दाहाल र नेपाल बिजनेस इन्स्टिच्युटकातर्फबाट कार्यकारी अध्यक्ष विशाल गैरेले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। कामना सेवा विकास बैंक ग्राहकको चाहनाअनुसार र समयसान्दर्भिक उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराउँदै आएको विकास बैंक हो।

‘वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र’ भन्ने मूल नारासहित अन्तर्राष्ट्रिय ढाँचामा आयोजना हुने शिखर सम्मेलनमा आर्थिक एवं बैंकिङ क्षेत्रको पछिल्लो आर्थिक अवस्था, टेलिकम्युनिकेसन क्षेत्र र डिजिटल नेपाल फ्रेमवर्कलगायतका विषयमा राष्ट्रिय र अन्तर्राष्ट्रिय वक्ताहरुले आफ्नो प्रतिवेदन पेस गर्नेछन्।

हस्ताक्षर कार्यक्रममा दाहालले आर्थिक विकास नै समृद्धिको मूल आधार भएकाले उद्यमशीलता र व्यवसायिक प्रवर्द्धनका लागि आयोजना हुन लागेको बिजनेस समिटमा विकास बैंकका तर्फबाट साझेदारी गर्न पाएकामा खुसी व्यक्त गरे। 

सम्मेलनका संयोजकसमेत रहेका नेपाल बिजनेस इन्स्टिच्युटकातर्फका कार्यकारी अध्यक्ष विशाल गैरेले शिखर सम्मेलनले ठूला उद्योगको संरक्षण, साना, मझौला तथा स्टार्टअप उद्यमलाई प्रोत्साहन गर्ने, लगानीका नयाँ क्षेत्रको पहिचानसहित उत्पादनमूलक, रोजगारीमूलक, निर्यातमूलक क्षेत्रमा लगानी विस्तार गर्ने लक्ष्य लिएको जानकारी दिए। 

समझदारी समारोहमा कामना सेवा बिकास बैंकका ब्रान्ड, सीएसआर र सर्भिस विभागकी विभागीय प्रमुख श्रीस्टिना मान्धरको समेत बिशेष उपस्थिति थियो।