काठमाण्डौ । लोकप्रिय आर्थिक अनलाइन पत्रिका(न्यूज पोर्टल) बिजशाला डटकमको कार्यकारी सम्पादकमा वरिष्ठ पत्रकार जयराम गौतम नियुक्त भएका छन् । 

बिजशाला डटकमको प्रकाशन संस्था सोस मिडिया प्रालिको पुस २८ गते बसेको संचालक समितिको बैठकले करिब २० वर्षदेखि सक्रिय पत्रकारिता गरिरहेका गौतमलाई कार्यकारी सम्पादक बनाउने निर्णय गरेको हो । 

कार्यकारी सम्पादकमा नियुक्त गौतम यसअघि झण्डै २० वर्षदेखि आप्का हाउसको प्रकाशन संस्था दि हिमालयन टाइम्स अंग्रेजी दैनिकमा कार्यरत थिए । उनले त्यसअघि आप्का हाउसकै तत्कालीन प्रकाशन अन्नपूर्णपोष्टमा समेत लामो समय काम गरेका थिए । 

कार्यकारी सम्पादकमा नियुक्त गौतमलाई काठमाण्डौको तीनकुनेस्थित बिजशाला कार्यालयमा बुधबार आयोजित एक समारोहका बीच सोस मिडिया प्रालिका अध्यक्ष सोमनाथ बास्तोलाले स्वागत गरे । सो क्रममा अध्यक्ष बास्तोलाले गौतम नेतृत्वको टिमले बिजशालालाई नयाँ उचाईमा पुर्याउने विश्वास व्यक्त गरे । उनले सोस मिडिया प्रालिका आगामी केही प्रोजेक्टहरुको विषयमा समेत सो क्रममा जानकारी गराएका थिए । 

सोही कार्यक्रममा बिजशाला टिमको नयाँ सदस्यको रुपमा मित्रबहादुर क्षेत्री(अर्जुन तिमल्सिना)लाई पनि स्वागत गरियो । लामो समयदेखि सेयर बजारमा लगानीकर्ताको रुपमा क्रियाशील क्षेत्री संवाददाताको रुपमा बिजशालामा प्रवेश गरेका हुन् । 

कार्यक्रममा नवनियुक्त कार्यकारी सम्पादक गौतमले बिजशालालाई अझ उत्कृष्ट बनाउने र पाठकहरुमाझ पृथक पहिचान स्थापित गर्ने उद्घोष गरे । 

नवनियुक्त संवाददाता क्षेत्रीले सेयर बजारका लगानीकर्ताहरुका लागि मात्र नभई आर्थिक विषयमा चासो राख्ने सबै तह र तप्काका लागि बिजशालालाई प्रिय बनाउने अभियानमा आफ्नो पूर्ण साथ रहने प्रतिबद्धता व्यक्त गरे ।