काठमाण्डौ। बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्टिच्युट अफ नेपाल लिमिटेड (बिफिन)ले ‘कन्फ्रेन्स अन लिडरसिप डेभलपमेन्ट फर नर्मल’ विषयमा एकदिने अन्तर्राष्ट्रियस्तरको सम्मेलन आयोजना गर्ने भएको छ।

सम्मेलनमा मंसिर ११ (शनिबार) र्‍याडिसन होटलमा हुनेछ। सम्मेलनमा बैंक तथा वित्तीय संस्थाका सञ्चालक समितिका पदाधिकारी, प्रमुख कार्यकारी अधिकृत, उच्च सरकारी अधिकारी, औद्योगिक तथा व्यावसायिक क्षेत्रका प्रतिष्ठित व्यक्ति  एवं अन्य पेसागत संघसंस्थाहरुका प्रतिनिधिको सहभागिता रहनेछ। यसका साथै नेपाल, भारत, बंगलादेश तथा श्रीलंकाका सम्बन्धीत क्षेत्रका प्रस्तोता एवं विज्ञहरुबाट ज्ञान आदान–प्रदानको उपयुक्त अवसर हुनेछ। 

सम्मेलनको उद्घाटन तथा प्रमुख आथित्यता नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट हुने कार्यक्रम रहेको छ। सम्मेलनका अन्य अतिथिमा भारतीय रिजर्भ बैंकका पूर्वगभर्नर डा. दुभुरी सुब्बाराव, बंगलादेश बैंकका पूर्वगभर्नर डा. अतिउर रहमान, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपाल, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय डा. निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र रहने कार्यक्रम रहेको छ।

यो सम्मेलन आयोजना गर्नुको उद्देश्य सबै तह र क्षेत्रका संस्थाहरुका लागि विद्युतीय कारोबारका लागि तयारी अवस्थामा लैजाने प्रयत्न गर्नु रहेको आयोजकले जनाएको छ। 

सम्मेलनबाट बैंकिङ सेवाहरुको भविष्यको सम्भावना, वस्तु तथा सेवा प्रवाहमा प्रविधिको प्रयोग, वित्तीय क्षेत्रमा देखा पर्ने अपराध तथा सुरक्षासम्बन्धी जोखीम तथा चुनौतीहरुको सामना गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ। यसका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा कोभिड १९ ले पारेको असर असुली रणनीति तथा सुशासन र महामारीको कारणले सांस्कृतीक क्षेत्रमा समेत आएको परिवर्तनका कारण बैंकिङ क्षेत्रले लिनुपर्ने शिक्षाको सन्दर्भमा समेत खोजी गरिनेछ।