काठमाण्डौ । बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुका लागि समेत कुलिङ पिरियड तोकिने भएको छ । 

बिमा समितिले 'बिमक संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७३' मा संसोधन गरी बैंक तथा बित्तीय संस्थामा जस्तै बिमा कम्पनीका सीइओहरुका लागि समेत ६ महिने कुलिङ पिरियड तोक्ने तयारी गरेको हो ।

बिमा समितिस्थित उच्चस्रोतका अनुसार निर्देशिका संसोधनका लागि अन्तिम तयारी भइरहेको छ । संसोधनपछि एउटा बिमा कम्पनीमा सीइओ भएको व्यक्तिले त्यहाँ छाडेको ६ महिनासम्म अर्को कम्पनीमा सोही पदमा रही काम गर्न पाउने छैन । 

बिमा कम्पनीहरुको संख्या बढेसँगै दक्ष जनशक्तिको तानातान भई कर्मचारीमा सुशासनको अभाव देखिएको र विकृति बढेको भन्दै बिमा समितिका अधिकारीहरुबीच सीइओहरुसहित उच्च पदस्थ कर्मचारीका लागि समेत कुलिङ पिरियड तोक्नुुपर्ने बहस भइरहेको छ । संचालकहरुका लागि समेत कुलिङ पिरियड तोक्नुपर्ने छलफल भइरहेको बताइएको छ । 

बिमा समितिले नेपाल राष्ट्रबैंककै पद्चाप पछ्याउँदै ६ महिने कुलिङ पिरियडको व्यवस्था गर्न लागे पनि अधिकांश बिमा कम्पनीका सीइओहरुले भने बिमा क्षेत्रका लागि ६ महिने कुलिङ पिरियडको व्यवस्था सुहाउँदो नहुने सुुझाव दिएका छन् । ‘हामी अधिकांश सीइओहरुलाई छलफलमा बोलाइएको थियो, त्यसबेला हामीले ६ महिनाको अवधि बिमा कम्पनीहरुका लागि लामो समय भयो भनेका थियौ ।’ सगरमाथा इन्स्योरेन्सका सीइओ चंकी क्षेत्रीले बिजशालासँग भने–‘हामी अधिकांश सीइओले ३ महिने कुलिङ पिरियडको व्यवस्था गर्दा राम्रो हुन्छ भन्ने सुुझाव दिएका छौ ।’ बैंकहरुको जस्तो बिमा कम्पनीको विजिनेश नभएकोले बैंकमा जस्तै ६ महिने कुलिङ पिरियड बिमा कम्पनीहरुका लागि उति सान्दर्भिक नहुने क्षेत्रीको भनाई छ ।