काठमाण्डौ । बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीइओ)हरुका लागि समेत कुलिङ पिरियड लागू भएको छ । 

बिमा समितिले ‘बिमक संस्थागत सुशासन सम्बन्धी निर्देशका २०७३’ मा संसोधन गरी बैंक तथा बित्तीय संस्थामा जस्तै बिमा कम्पनीका सीइओहरुका लागि समेत ६ महिने कुलिङ पिरियड लागू गरेको हो । 

आइतबारदेखि लागू भएको निर्देशिकामा भनिएको छ–‘बीमकको कार्यकारी प्रमुख उक्त बीमकको सेवाबाट निबृत भएको छ महिनाको अवधि पूरा नभएसम्म अर्को बीमकको कार्यकारी प्रमुखको रुपमा नियुक्त हुन पाउने छैन।’

निर्देशिकाको पछिल्लो संसोधनमा बिमा कम्पनीको सीइओले कम्पनी सचिवको रुपमा काम गर्न नपाउने, पदमा रहुञ्जेल वा पदबाट हटेको एक वर्षसम्म पनि सम्बद्ध कम्पनीको शेयर खरिद बिक्री गर्न नपाउने, सो कम्पनीको संचालक सर्भेयर, बिमा दलाल, सहजकर्ता तथा परामर्शदाता भएर समेत सो अवधिमा काम गर्न नपाउने गरी कडाई गरिएको छ ।

बिमा कम्पनीहरुको संख्या बढेसँगै दक्ष जनशक्तिको तानातान भई कर्मचारीमा सुशासनको अभाव देखिएको र विकृति बढेको भन्दै बिमा समितिका अधिकारीहरुबीच सीइओहरुसहित उच्च पदस्थ कर्मचारीका लागि समेत कुलिङ पिरियड तोक्नुुपर्ने बहस छेडिएको थियो । संचालकहरुका लागि समेत कुलिङ पिरियड तोक्नुपर्ने माग भए पनि यो पटकको संसोधनमा सो कुराको सम्बोधन भएन ।

बिमा समितिले नेपाल राष्ट्रबैंककै पद्चाप पछ्याउँदै ६ महिने कुलिङ पिरियडको व्यवस्थाका लागि सुझाव माग्दा अधिकांश बिमा कम्पनीका सीइओहरुले भने बिमा क्षेत्रका लागि ६ महिने कुलिङ पिरियडको व्यवस्था सुहाउँदो नहुने सुुझाव दिएका थिए । सीइओहरुले बिमा कम्पनीहरुका लागि ३ महिने कुलिङ पिरियडको व्यवस्था गर्दा राम्रो हुने सुझाव दिए पनि बिमा समितिले त्यसलाई बेवास्ता गरी ६ महिने व्यवस्था लागू गरेको हो ।

योग्यतामा कडाई
निर्देशिकामार्फत बिमा समितिले बिमा कम्पनीका सीइओहरुको शैक्षिक, अनुभव तथा उमेरको हद लगायतसँग जोडिएका योग्यता समेत तोकेको छ । जस अनुसार अबदेखि बिमा कम्पनीको सीइओ बन्नका लागि बीमा, व्यवस्थापन, वित्त, लेखा, अर्थशास्त्र, बाणिज्यशास्त्र, कानुन, गणित, तथ्यांकशास्त्र वा इञ्जिनियरिङ विषयमा कम्तीमा पनि स्नतकोत्तर गरेको हुनुपर्ने, व्यवस्थापन तहमा बसेर काम गरेको पाँच वर्ष वा वित्तीय क्षेत्रमा भए कम्तीमा ८ वर्ष वा दुबै क्षेत्रमा कार्यानुभव भएको हुनुपर्ने भनिएको छ । स्नातक पढेकाको हकमा भने १३ देखि १५ वर्षको कार्यानुभव हुनुपर्ने बिमा समितिलले व्यवस्था गरेको छ ।

निर्देशिकामा ७० वर्ष वा त्यसभन्दा माथि उमेर भएको व्यक्ति सीइओ हुन नसक्ने, बिमा समितिको अध्यक्ष भएकोले पनि कुनै कम्पनीमा सीइओ बन्न नपाउने व्यवस्था गरिएको छ । बैंक तथा बित्तीय संस्थाहरुमा जस्तै बिमा कम्पनीका सीइओका लागि अधिकतम २ कार्यकाल तोकिएको छ । 

निर्देशिकामार्फत बिमा कम्पनीका संचालकहरुको योग्यता समेत तोकिएको छ । जसअनुसार विदेशी वा स्वेशी बीमक, बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रको संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको अधिकृत स्तरमा कम्तीमा ५ वर्ष काम गरेको व्यक्ति मात्र संचालक बन्न पाउनेछ । यस्तै, स्नातक पढेर विदेशी कम्पनीमा काम गरेको अनुभव भएका पनि संचालकका लागि योग्य हुनेछन् । यस्तै, नेपाल सरकारको अधिकृत स्तरमा तीन वर्ष काम गरेकाहरु पनि बीमा कम्पनीको संचालक हुन पाउने छन्। यस्तै, बीमा समितिले तोकेको क्षेत्रमा स्नातकोत्तर गरेकाहरु पनि संचालक हुन योग्य हुने व्यवस्था गरिएको छ। संचालक हुन कम्तीमा पनि २५ वर्ष पूरा भएको हुनुपर्नेछ । 

बैंक तथा बित्तीय संस्थाहरुमा झै बिमा कम्पनीहरुमा समेत संवैधानिक पद धारणा गरेको, देशका तीनै तहका सरकारका विभिन्न निर्वाचित पदमा रहेकाले सो जिम्मेवारी रहुञ्जेल बिमा कम्पनीको संचालक हुन पाउने छैनन् ।